लमजुङका चार स्थानीय तहमा निषेधाज्ञा थपियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    लमजुङका चार स्थानीय तहमा निषेधाज्ञा थपियो

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७७, शनिबार

    लमजुङ : कोरोना संक्रमण जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय लमजुङले जिल्लाका विभिन्न स्थानीय तहमा जारी गरेको निषेधाज्ञा अवधि थप गरेको छ। सदरमुकाम बेंसीशहरका केही वडाहरूमा निषेधाज्ञा जारी राख्दै अन्य स्थानीय तहमा पनि समयावधि थपिएको हो। 

    जिल्लास्थित कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित क्राइसिस म्यानेजमेन्ट सेन्टरमा शुक्रबार बसेको बैठकले मध्यनेपाल, सुन्दरबजार, राइनास र क्होलासोँथारमा जारी निषेधाज्ञाको समयावधि थप गरेको हो। यसअघि १२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएकोमा संक्रमण जोखिम अझै कायम रहेको भन्दै १७ गते सम्मका लागि थप भएको हो। 

    सिएमसीका अनुसार सुन्दरबजार नगरपालिकाअन्तर्गत वडा नं. ५, ६, ७, ८ र ९ मा निषेधाज्ञा जारी गरिएको छ। यस्तै, मध्यनेपालको वडा नं. २, ३, ४, ६, ७ र क्होलोसोँथार गाउँपालिकाको वडा नं. १, २, ३ र ४ मा १७ गते साँझ ६ बजे सम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ। 

    निषेधाज्ञा जारी भएका क्षेत्रमा खाद्यान्न तथा फलफूल र तरकारी पसल खोल्नका लागि विहानको ६ बजेदेखि ९ बजेसम्म समय तोकिएको छ। अन्य समयमा सम्पूर्ण पसलहरू बन्द गर्न आदेश जारी भएको छ। 

    प्रशासनले यसअघि १७ गतेसम्मका लागि बेंसीशहर नगरपालिका अन्तर्गत वडा नं. २, ३, ७ र ८ मा पनि निषेधाज्ञा जारी गरेको थियो। जिल्लामा थप संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउँदै मानिसहरूको चहलपहल हुने क्षेत्रमा निषेधाज्ञा जारी गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।

    निषेधाज्ञा जारी भएको क्षेत्रमा औषधी उपचार, खाद्यवस्तु खरिद र खेतबारीमा कृषिजन्य काम बाहेक घरबाहिर निस्कन रोक लगाइएको छ। अत्यावश्यक बाहेकका सवारी र हिँडडुलमा पूर्ण प्रतिबन्ध लगाइएको छ। निषेधाज्ञा जारी भएसँगै सदरमुकाम बेंसीशहरमा व्यापार-व्यवसाय बन्द हुनुका साथै बैंक तथा वित्तीय संस्थाहरूले पनि सेवाप्रवाह ठप्प रोकेका छन्।

    जिल्लाभित्र धार्मिक-सांस्कृतिक, सामाजिक लगायत कुनैपनि प्रकारको जमघट र भेला गर्नमा प्रशासनले रोक लगाएको छ। जिल्लाका नाकाहरूबाट समेत अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सम्पूर्ण सवारी साधन र पैदल आवतजावतमा पूर्ण रोक लगाएको प्रशासनले जनाएको छ।

    प्रशासन कार्यालयबाट जारी आदेशको बर्खिलाप भए वा गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने चेतावनी दिइएको छ।