बन्दीपुरले बॉड्यो घर भत्कनेलाई राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरले बॉड्यो घर भत्कनेलाई राहत

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, बुधबार

    तनहुँ : गत असार २९ गते र त्यसपछि परेको वर्षाले घर भत्किएकालाई तनहुँको बन्दीपुर गाउँपालिकाले राहत वितरण गरेको छ । सबै वडाबाट घर भत्किनेको विवरण सङ्कलन गरेर गाउँपालिकाले राहत रकम वितरण गरेको हो ।

    गाउँपालिकाले ६ वटै वडाका पहिरा पीडितलाई रु ६ लाख ६५ हजार राहत रकम वितरण गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । “वर्षापछि आएको पहिराले क्षति भएका घर, टहरा, गोठ, खेतको वडागत रुपमा तथ्याङ्क सङ्कलन गरेर पहिलो चरणमा घर क्षति भएकालाई राहत रकम वितरण गरेका छौ,” थापाले भन्नुभयो, “बाढीले बगर भएका खेतका धनीलाई पनि क्षतिपूर्ति स्वरुप राहत दिन्छौ ।”

    अध्यक्ष थापाका अनुसार बन्दीपुर गाउँपालिका–१ का तीन जनालाई घर पूर्ण क्षति बापत रु ३० हजारका दरले रु ९० हजार वितरण गरिएको छ । त्यस्तै आंशिक घर क्षति भएका ६ जनालाई जनही रु १० हजारका दरले ६० हजार, दुई गोठलाई रु दश हजार वितरण गरिएको छ । बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले उच्च जोखिममा रहेकालाई तारजालीको व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

    बन्दीपुर गाउँपालिका–२ मा पूर्ण क्षति एक जनालाई रु ३० हजार, आंशिक क्षति तीन जनालाई रु दश हजारका दरले रु ३० हजार र गोठ क्षति हुनेलाई रु पाँच हजार वितरण गरिएको छ ।

    बन्दीपुर गाउँपालिका–३ मा आंशिक क्षति ८ जनामध्ये दुई जनालाई रु दश हजारका दरले र ६ जनालाई रु पाँच हजारका दरले राहत वितरण गरिएको छ । बन्दीपुर गाउँपालिका–४ मा पूर्ण क्षति एक जनालाई रु ३० हजार, आंशिक क्षति ८ जनालाई रु दश हजारका दरले रु ८० हजार र गोठ क्षति हुने एक जनालाई रु पाँच हजार राहत रकम वितरण गरिएको छ ।

    बन्दीपुर गाउँपालिका–५ मा दश जनालाई रु ११ हजारका दरले रु एक लाख १० हजार र तीन जनालाई रु पाँच हजारका दरले रु १५ हजार राहत वितरण गरिएको छ । बन्दीपुर गाउँपालिका–६ मा पूर्ण क्षति छ जनालाई रु ३० हजारका दरले रु एक लाख ८० हजार राहत वितरण गरिएको छ ।

    पहिराले बन्दीपुर गाउँपालिका–१ मा ३४ घर पूर्ण जोखिममा र १९ घर आंशिक जोखिममा छन् । उक्त वडाका ९१ कृषकले बाढीले खेत बगर भएको भन्दै वडा कार्यालयमा निवेदन दिएका छन् । त्यस्तै उक्त वडाका खानेपानीको मूल, मोटरमार्ग, चक्रपथ लगायतमा पनि क्षति पुगेको छ ।

    बन्दीपुर गाउँपालिका–२ मा ३७, बन्दीपुर गाउँपालिका–३ मा ३९, बन्दीपुर गाउँपालिका–४ मा ३५, बन्दीपुर गाउँपालिका–५ मा ३७ र बन्दीपुर गाउँपालिका–६ मा १९ जनाले घर, गोठ र खेत क्षति भएको भन्दै निवेदन दिएका छन् ।