एजेन्सी : बार्सिलोना छोडेर म्यानचेस्टर सिटी गएमा लियोनेल मेस्सीलाई फूटबल इतिहासकै सबभन्दा महंगा खेलाडी बनाउने देखिएको छ । बेलायती पत्रिका द डेली रेकर्डको अन्लाइन संस्करणमा प्रकाशित खबरअनुसार, मेस्सीले सिटी फूटबल ग्रूपका लागि पाँच वर्षको सम्झौता गर्न ७० करोड युरो बराबरको रकम लिन सहमति जनाएका छन् ।
बार्सिलोनाबाट खेल्न आफू अनिच्छुक रहेको देखाएका मेस्सीले आगामी तीन सीजन म्यानचेस्टर सिटीमा बिताउने अनि त्यसपछि सिटी फूटबल ग्रूपकै सदस्य रहेको अमेरिकाको न्युयोर्क सिटी फूटबल क्लबका लागि खेल्ने सहमति बनेको हो ।
१२ वर्षअघि अबु धाबी समूहले म्यानचेस्टर सिटी किन्दा मेससीलाई जसरी भए पनि भित्र्याउने लक्ष्य लिएको थियो । मेस्सीलाई बेलायत र अमेरिकाका क्लबहरूबीच खेल्ने अवधि तोक्ने छुट पनि सिटी फूटबल ग्रूपले दिएको छ । यससँगै मेस्सीलाई सिटी फूटबल ग्रूपको शेयर समेत अफर गरिएको एक स्रोतले जनाएको भनी द डेली रेकर्डले लेखेको छ ।
तर मेस्सीले शेयर लिनुको साटो नगद नै लिन सक्ने सम्भावना छ । मेस्सीले अन्य क्लब छोडेर सिटी नै छान्नुमा प्रेमियर लीग खेल्ने चाहना अनि पाँचौं च्याम्पियन्स लीग उपाधि जित्ने आकांक्षा पनि कारण रहेको बताइएको छ । प्रशिक्षक पेप ग्वार्डिओलासँग पुनर्मिलन गर्ने चाहना पनि उनमा छ । मेस्सी आफ्नो सर्वोत्कृष्ट प्रदर्शन ग्वार्डिओलाकै प्रशिक्षणमा गरेको विश्वास गर्छन् र त्यसलाई दोहोर्याउन चाहन्छन्,’ उनीसँग निकट रहेको एक स्रोतले बतायो ।