इन्ज्युरी समयको गोलसँगै जर्मनी र स्पेनको बराबरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    इन्ज्युरी समयको गोलसँगै जर्मनी र स्पेनको बराबरी

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, शुक्रबार

    एजेन्सी : इन्ज्युरी समयको अन्तिम मिनेटमा स्पेनी डिफेन्डर जोसे गायाले गोल गरेपछि यूईएफए नेसन्स लिगको समूह चरणको पहिलो खेलमा स्पेन र जर्मनीले बराबरी खेलेका छन् ।

    स्टुटगार्टमा बिहीबार खेलको अधिकांश समय अग्रतामा रहेपनि जर्मनी १-१ को बराबरीसँगै अंक बाँड्न बाध्य भयो । पहिलो हाफमा चेल्सीका नयाँ फरवार्ड टिमो वेर्नरको गोलमा अग्रता लिएको जर्मनीले अन्त्यमा गोल खाएपछि नेसन्स लिगमा जितविहिन यात्रा कायम राख्यो ।

    खेलको १८ औं मिनेटमा स्पेनका गोलरक्षक डेविड डे हेयाले उत्कृष्ट बचाउ गर्दै जर्मनीलाई अग्रता लिनबाट रोके । उनले लेरोय सानेको शक्तिशाली प्रहारलाई डाइभ दिँदै विफल पारे । त्यसको ५ मिनेटमै स्पेनले पनि अग्रता लिने अवसर गुमायो । लिड्स युनाइटेडले यसै साता अनुबन्ध गरेका फरवार्ड रोड्रीगोले पेनाल्टी क्षेत्रबाहिर गोलरक्षक बिट भएको अवस्थामा सट प्रहार गर्न नसक्दा खेल बराबरीमै रहयो ।

    २५ औं मिनेटमा सर्जियो बुस्केट्सको प्रहार सिधै जर्मन गोलरक्षक केभिन ट्रयापको हातमा पुग्यो । फ्रिकिकमा आएको रिबाउन्डलाई पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका बुस्केट्सले सदुपयोग गर्न सकेनन् । २९ औं मिनेटमा स्पेनिस टोलीका लागि डेब्यु गरिरहेका मिडफिल्डर फेरान टोरेसको प्रहार आकासियो ।

    ३६ औं मिनेटमा सिटीका नयाँ खेलाडी फेरानले नै अर्को अवसर सिर्जना गरे । टोरेसको क्रसमा रोड्रीगोको प्रहारले पोस्टको दिशा लिन सकेन । पहिलो हाफको अन्तिम मिनेटमा रोड्रीगोको अर्को प्रहार गोलरक्षक ट्रयापले विफल पार्दै खेल बराबरीमा राखे ।

    दोस्रो हाफमा स्पेनले १७ वर्षीय मिडफिल्डर अन्सु फातीलाई मैदान उतार्यो । उनले जेसस नाभासको स्थान लिएका थिए । खेलको ५१ औं मिनेटमा जर्मनीले वेर्नरको गोलमा अग्रता लियो । डेब्यु गरिरहेका रोबिन गोसेन्सको लो क्रसलाई वेर्नरले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक डे हेयाले बचाउने कुनै अवसर पाएनन् ।

    ६२ औं मिनेटमा जर्मनीले अग्रता दोब्बर पार्ने अवसर सदुपयोग गर्न सकेन । सानेको लो क्रसमा वेर्नरको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो । ७८ औं मिनेटमा गोलरक्षक डे हेया पुन: बाधक बने । क्रुसको फ्रिकीक प्रहारमा निकलस सुलको हेडरलाई डे हेयाले पाँच गर्दै विफल पारे ।

    स्पेनले दोस्रो हाफमै ओस्कार रोड्रीग्वेज र मिकेल मेरिनोलाई पनि डेब्युको अवसर प्रदान गर्यो । ८५ औं मिनेटमा फातीको मुभलाई मथिअस गिन्टरले क्लियर गर्दै खतरा टारे । ८७ औं मिनेटमा क्रुसको कर्नरमा एन्टोनियो रुडीगरको हेडर पोस्टभन्दा थोरै माथिबाट गयो ।

    इन्ज्युरी समयको दोस्रो मिनेटमा स्पेनले गोल गरेपनि रेफ्रीले फल भएको भन्दै मान्यता दिएनन् । फेरानको फ्रिकिक क्रसमा अन्सु फातीको हेडर गोलमा परिणत भएपनि उक्त मुभको क्रममा रामोसले गिन्टरलाई फल गरेपछि रेफ्रीले सिठी फुकेका थिए ।

    इन्ज्युरी समयको सातौं मिनेटमा स्पेनले बराबर गोल फर्कायो । फेरान टोरेसको क्रसमा पेनाल्टी क्षेत्रभित्र रोड्रीगोको हेडरलाई जोसे गायाले गोलको दिशा दिँदै खेल बराबरीमा ल्याए । यस गोलसँगै स्पेनले पछिल्लो चार वर्षयता प्रतिस्पर्धात्मक खेलमा लगातार गोल गर्ने सिलसिला कायम राख्यो ।