बार्सिलोनामै फर्किए कोउटिन्हो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बार्सिलोनामै फर्किए कोउटिन्हो

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, शुक्रबार

    एजेन्सी : ब्राजिलका आक्रामक मिडफिल्डर फिलिप कोउटिन्हो बार्सिलोना फर्किएका छन्। बार्सिलोनामा राम्रो प्रदर्शन गर्न नसकेको भन्दै एक वर्षअघि लोनमा जर्मन क्लब बायर्न म्युनिख पुगेका कोउटिन्हो बायर्नमा समय गुजारेर पुनः बार्सिलोना फर्किएका हुन्।

    बार्सिलोनासँगको सम्झौता अझै तीन वर्ष बाँकी रहेका कोउटिन्होलाई यसअघि क्लबले नराख्ने निर्णय गरेको थियो। तर पछिल्लो समय बायर्नमा सानदार प्रदर्शन गरिरहेका कोउटिन्होप्रति बार्सिलोना सकारात्मक देखिएको छ। बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोइम्यान पनि कोउटिन्होलाई टोलीमा समावेश गर्न इच्छुक देखिएका छन्।

    बायर्नले कोउटिन्हो बार्सिलोना फर्किएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ। कोउटिन्होले गरेको प्रदर्शन र उपलब्धिलाई लिएर बायर्नले उनलाई धन्यवादसमेत दिएको छ। कोउटिन्होले पनि बायर्नका आफ्ना समर्थकलाई धन्यवाद दिएका छन्। बार्सिलोनामा जम्न नसकेको आरोप लागेका कोउटिन्होले बायर्नमा उत्कृष्ट खेल देखाएका थिए।

    उनले बायर्नलाई एकै सिजनमा बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कप गरी महŒवपूर्ण तीनवटा उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्नले बार्सिलोनालाई ८–२ गोलले हराउँदा दुई गोल उनै कोउटिन्होले गरेका थिए। २८ वर्षीय कोउटिन्होले बुन्डेस लिगामा मात्र २३ खेल खेल्दै आठ गोल गरेका छन्। उनले च्याम्पियन्स लिगमा तीन गोल गरेका थिए। कोरोनाको बीचमा बार्सिलोनाले कोउटिन्होलाई नराख्ने योजना बनाएको थियो। बार्सिलोनाले कोउटिन्होका लागि ८४ मिलियन पाउन्ड मूल्यसमेत तोकिसकेको थियो।

    पछिल्लो समय बार्सिलोनाबाट कप्तान लियोनल मेसीसहित स्टार खेलाडीले हात झिक्ने क्रम देखिएकाले पनि बार्सिलोनाले कोउटिन्होप्रति सहानुभूति देखाएको हो। बार्सिलोनाले नराखेमा कोउटिन्होले प्रिमियर लिग क्लब फर्कने चाहना बनाएका थिए। कोउटिन्होलाई अनुबन्ध गर्न आर्सनल र चेल्सी दुवै क्लब इच्छुक देखिएका थिए।

    कोउटिन्हो सन् २०१८ मा प्रिमियर लिग क्लब लिभरपुलबाटै स्पेनिस महारथी बार्सिलोना पुगेका थिए। लिभरपुलबाट एक सय ६० मिलियन युरोमा बार्सिलोना पुगेका कोउटिन्होलाई बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्न नसकेको भन्दै लोनमा बायर्न पठाएको थियो। बार्सिलोनाले गत सिजन फ्रान्सेली स्टार एन्टोइन ग्रिजम्यानलाई अनुबन्ध गरेका कारणले पनि कोउटिन्हो बार्सिलोनाको रोजाइमा परेका थिएनन्।

    कोउटिन्होले सन् २०१३ मा लिभरपुल आउनुअघि इटालियन क्लब इन्टर मिलानबाट खेलेका थिए। उनले इन्टरबाटै लोनमा दुई सिजन ब्राजिलियन क्लब भास्को डी गामा र स्पेनिस क्लब स्पान्योलबाट एक सिजन लोनमा खेलेका थिए। सन् २०१० देखि ब्राजिलको सिनियर टोलीमा रहँदै आएका कोउटिन्होले देशका लागि ६१ खेल खेल्दै १७ गोल गरेका छन्।