नागरिकता किर्ते काण्डमा वडाध्यक्ष पक्राउ, एक वर्ष कैद भुक्तानका लागि कारागार चलान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नागरिकता किर्ते काण्डमा वडाध्यक्ष पक्राउ, एक वर्ष कैद भुक्तानका लागि कारागार चलान

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०७७, सोमबार

    तनहुँ : किर्ते नागरिकता बनाउन सहयोग पुर्याएको आरोपमा तनहुँ जिल्ला अदालतबाट दोषी ठहर हुनुभएका तनहुँको भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्ल कैद भुक्तानका लागि कारागार चलान भएका छन् ।

    विसं २०५४ सालमा साविक गजरकोट गाउँ विकास समिति–४ का अम्बरबहादुर थापाका छोरा राजु थापालाई सोही ठाउँका होमबहादुर थापाको छोरा भन्ने झुटो विवरण बनाई नागरिकताको प्रमाणपत्र निकाल्न सहयोग गरेको आरोपमा वडाध्यक्ष मल्ल सोमबार कारागार चलान हुनुभएको हो । वडाध्यक्ष मल्ललाई प्रहरीले आजै पक्राउ गरेको थियो ।

    जिल्ला अदालत तनहुँका निमित्त श्रेस्तेदार जीवनकुमार पौडेलले निज मल्ललाई कैद भुक्तानका लागि कारागार तनहुँ चलान गरिएको जानकारी दिनुभयो । निज मल्ल विरुद्ध जिल्ला अदालत तनहुँले विसं २०५५ साल वैशाख २ गते दोषी ठहर गरी एक वर्ष कैदको फैसला सुनाएको थियो । अदालतको फैसला पछि पनि मल्ल पक्राउ पर्नुभएको थिएन । उहाँ नेपाली काङ्ग्रेसको तर्फबाट गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

    वडाध्यक्ष मल्ल विरुद्ध बेलायती सेनाका लाहुरे होमबहादुरलाई रु दुई लाख दिई राजुलाई उनको छोरा भनी जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र बनाउन सेटिङ मिलाएको आरोप लागेको थियो ।

    प्रहरीले विभिन्न मुद्दामा संलग्न तथा जिल्ला अदालतबाट दोषी ठहर भएका प्रतिवादीलाई पक्राउ गर्न अभियान नै चलाएको छ ।