पाेखरा : पोखराको फिस्टेल अस्पतालमा शुक्रबार बिहान मृत्यु भएकी एक महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । ती महिलाको कोरोना रिपोर्ट नआउँदै अस्पतालले शव आफन्तलाई बुझाएको खुलेको छ ।
पोखरा–५ मालेपाटनकी ४५ वर्षीया उक्त महिलाको शुक्रबार बिहानै आफन्तले दाहसंस्कार गरिसकेका छन् ।ब्लड क्यान्सरबाट पीडित उनी बिहीबार गैह्रापाटनको फिस्टेल अस्पतालमा भर्ना भएकी थिइन् । बिहीबार नै उनको स्वाब संकलन गरी क्षेत्रीय क्षयरोग केन्द्रको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । उनको शुक्रबार बिहान १:१५ बजे भेन्टिलेटरमा राखेको अवस्थामा मृत्यु भएको थियो । अस्पतालले कोरोनाले नभई अन्य कारणले मृत्यु भएको भन्दै बिहान परिवारलाई शव हस्तान्तरण गर्यो । परिवारले पोखराको रामघाटमा मृतकको अन्त्येष्टि गरे । महिलाको अन्त्येष्टिमा ठूलो संख्यामा मलामीको उपस्थिति थियो ।
अस्पतालले शव लैजान भनेकाले आफूहरुले ल्याएर अन्त्येष्टि गरेको मृतकका श्रीमानले बताउनुभयाे । उहाँले भन्नुभयाे ‘हामीले सोध्दा मृत्युको कारण कोरोना होइन, फरक हो, लैजानु भनेपछि रिपोर्ट नआउँदै अन्त्येष्टि गरेका हौं ।’
प्रदेश स्वास्थ्य निर्देशनालयअन्तर्गत प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले नमुना परीक्षणका लागि पठाएपछि रिपोर्ट नआउँदै शव हस्तान्तरण गर्नु अस्पतालको गम्भीर लापर्बाही भएको बताउनुभयाे ।