एकैदिन ३५ फरार प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एकैदिन ३५ फरार प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    २७ भाद्र २०७७, आईतवार

    तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबार ३५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरीवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी रहेका पक्राउ गर्ने अभियान अन्तर्गत प्रहरीले आज एकैदिन ३५ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा ठगी, बहुविवाह, नागरिकता किर्ते, वन, सार्वजनिक अपराध तथा देवानी मुद्दाका प्रतिवादी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार अदालतबाट फैसला भई रु दुईसय देखि रु दुई लाखसम्म जरीवाना सजाय तोकिएमा तोकिएको जरीवाना भुक्तान नगरी हालसम्म फरार रहेका विभिन्न ठाउँका प्रतिवादीलाई पक्राउ गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी इकाई कार्यालयबाट पक्राउ गरिएकाहरुबाट रु चार लाख १६ हजार तीन सय २५ भुक्तानका लागि जिल्ला अदालत तनहुँ उपस्थित गराइएको छ ।

    बहुविवाह मुद्दाका प्रतिवादी कारागार चलान

    बहुविवाह मुद्दामा अदालतबाट एक वर्ष तीन महिना कैद तोकिएका एक प्रतिवादी कारागार चलान भएका छन् । तनहुँको भानु नगरपालिका–११ का २८ वर्षीय बाबुराम आलेलाई जिल्ला अदालत तनहुँले आज कैद भुक्तानका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

    बहुविवाह मुद्दामा आले विरुद्ध जिल्ला अदालतले विसं २०७३ मङ्सिर १५ गते एक वर्ष तीन महिना कैद र रु पाँच हजार जरीवानाको फैसला सुनाएको थियो । लुकिछिपी बस्दै आएका उनलाई आज सम्बन्धित घरवतनबाटै पत्राउ गरिएको प्रहरीले जनाएको छ ।