तनहुँ : आदिकवि रेखबहादुर सारु मगर स्मृति तथा साहित्य पुरस्कार पूर्वमन्त्री शिवलाल थापा मगरलाई प्रदान गरिने भएको छ । आदिकवि रेखबहादुर सारु मगर स्मृति तथा साहित्य प्रतिष्ठान र नेपाल मगर लेखक सङ्घ गण्डकी प्रदेश समितिले मगर भाषाका आदिकवि रेखबहादुर सारु मगरको ७७ आंै जन्मजयन्तीको अवसरमा उक्त पुरस्कार घोषणा गरेको हो ।
तनहुँको दमौली निवासी पूर्वमन्त्री थापालाई प्रदान गरिने उक्त पुरस्कारको राशी रु सात हजार रहेको साहित्य प्रतिष्ठानका अध्यक्ष खड्ग पामी आले मगरले जानकारी दिनुभयो । पूर्वमन्त्री थापाले मगर भाषामा सात वटा पुस्तक प्रकाशित गर्नुभएको छ ।
प्रतिष्ठानले यसवर्षदेखि आदिकवि रेखबहादुर सारु मगर स्मृति तथा नव प्रतिभा पुरस्कार समेत प्रदान गर्ने भएको छ । उक्त पुरस्कार रोल्पाका बेलबहादुर बुढा मगरलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशी रु पाँच हजार रहेको छ । मगरले खाम भाषामा दुई वटा पुस्तक प्रकाशित गर्नुभएको छ ।
दुवै पुरस्कार भर्चुअल माध्यमबाट आयोजित कार्यक्रमका अवसरमा घोषणा गरिएको हो । कोभिड–१९ को सङ्क्रमण कम भएपछि एक कार्यक्रमका बीच उक्त पुरस्कार हस्तान्तरण गरिने प्रतिष्ठानले जनाएको छ ।