एजेन्सी: साविक विजेता वायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा उत्कृष्ट सुरुवात गरेको छ।वायर्नले शुक्रबार भएको आफ्नो पहिलो खेलमा साल्केमाथि ८-० को जित हात पारेको हो।
यो बुन्डेसलिगामा कुनै पनि टिमले पहिलो खेलमा हात पारेको अहिलेसम्मकै ठूलो अन्तरको जित हो।उसले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा ५ गोल थपेको थियो। जसमा ६ फरक खेलाडीले गोल गरेका थिए भने सेर्जी जिनर्बीले ह्याट्रिक गरे।
जिनर्बीले खेलको चौथो मिनेटमा पहिलो गोल गर्दा थप दुई गोल दोस्रो हाफमा गरे। ४७ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका जिनर्बीले ५९ मिनेट अर्को गोल गरेर ह्याट्रिक पूरा गरे।
यस्तै गोरेट्काले १९ मिनेटमा र रोबर्ट लेवान्डोस्कीले ३१ मिनेटमा पेनाल्टीमा गोल गरे। यसैगरी थोमस मुलरले ६९ मिनेटमा, लिरोए सानले ७१ मिनेट र मुसिएलाले ८१ मिनेटमा थप गोल गरे।
योसँगै वायर्नले लगातार २२ खेलमा जित हात पारेको छ।
यता साल्केले भने गत जनावारीदेखिका पछिल्ला नौ खेलमा जित हात पारेको छैन। साल्केले ७ खेलमा पराजय भोग्दा दुई खेलमा बराबरी खेलेको छ।
खेलमा वायर्नले ७५ सय दर्शकलाई रंगशलामा प्रवेश दिने विश्वास गरेको थियो। तर म्युनिखका मेयरले दर्शकलाई रंगशालामा प्रवेश दिनका लागि अस्विकार गरेका थिए।