ल्याण्डफिल्ड साइड नहुँदा समस्या, अब व्यक्तिको जग्गामा फोहर बिसर्जन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ल्याण्डफिल्ड साइड नहुँदा समस्या, अब व्यक्तिको जग्गामा फोहर बिसर्जन

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०७७, सोमबार

    तनहुँ : तनहुँको सदरमुकाम दमौलीमा रहेको व्यास नगरपालिकामा ल्याण्डफिल्ड साइड नहुँदा समस्या उत्पन्न भएको छ । बजार क्षेत्रबाट दैनिक रुपमा सङ्कलन गरिने फोहरमैला व्यास नगरपालिका–३ स्थित भतेरीमा बिसर्जन गर्ने गरिएपनि स्थायी रुपमा ल्याण्डफिल्ड साइड नहुँदा समस्या उत्पन्न हुँदै आएको छ ।

    स्थायी रुपमा ल्याण्डफिल्ड साइड बनाउन माग हुँदै आएपनि उपयुक्त ठाउँ नपाउँदा नगरपालिकाले ल्याण्डफिल्ड साइड निर्माण गर्न सकिरहेको छैन । व्यास नगरपालिका–५ स्थित एक सामुदायिक वनमा ल्याण्डफिल्ड साइड निर्माणका लागि अध्ययन गरिएपनि स्थानीयवासीको विरोधपछि उक्त कार्य स्थगित भएको नगरपालिकाले जनाएको छ ।

    ल्याण्डफिल्ड साइडको अभावमा दमौलीको फोहरमैला व्यवस्थापनमा समस्या हुँदै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । भतेरीमा विगत लामो समयदेखि फोहर फाल्दै आइएपनि नदीमा आउने बाढीले उक्त ठाउँ कटान गरिदिँदा समस्या हुँदै आएको सिग्देलले बताउनुभयो । “मादी नदी नजिकको भतेरीमा फोहर बिसर्जन गर्ने गरिएपनि नदीमा आउने बाढीले बेला बेलामा दुःख दिइरहेको छ,” सिग्देलले भन्नुभयो ।

    गत असारदेखि यता बेला बेलामा आएको बाढीले भतेरी कटान गर्दै लगेपछि फोहर बिसर्जन गर्न समस्या हुँदै आएको छ । भतेरीले नदी कटान गरेपछि नगरपालिकाले वैकल्पिक व्यवस्था मिलाएर पुनः फोहर बिसर्जन गरेपनि केही दिन अगाडी परेको अविरल वर्षासँगै नदीले पुनः उक्त ठाउँ कटान गरिदिएको छ । त्यसपछि बजार क्षेत्रको फोहर सङ्कलनमा पुनः समस्या आएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताउनुभयो ।

    उहाँका अनुसार अब बुधबारसम्म बजार क्षेत्रबाट फोहर सङ्कलन गर्न नसकिने भएको छ । “बजार क्षेत्रको फोहर बिसर्जन गर्ने ठाउँ व्यास नगरपालिका–३ स्थित भतेरी मादी नदीले पटक पटक कटान गरेपछि नगरपालिकाले असोज १४ गते बुधबारसम्म बजार क्षेत्रबाट फोहर सङ्कलन गर्न नसक्ने भइयो,” उहाँले भन्नुभयो, “कोभिड–१९ का कारण तत्कालै वैकल्पिक व्यवस्था मिलाउन समस्या परेकाले बुधबारसम्म घर, सटर तथा टोलका फोहरमैला घरबाहिर चोकमा ननिकाली सहयोग गरिदिन नगरपालिकाले नगरवासीलाई आग्रह गरेका छौ ।”

    अब व्यक्तिको जग्गामा फोहर बिसर्जन

    नगरपालिकाले सार्वजनिक जग्गामा ल्याण्डफिल्ड साइड बनाउन खोजेपनि तत्कालै सम्भव नभएपछि व्यक्तिको जग्गामा फोहर बिसर्जन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार व्यास नगरपालिका–१ का रामदेव पन्थले फोहर बिसर्जनका लागि आफ्नो जग्गा निःशुल्क नगरपालिकालाई उपलब्ध गराउन तयार हुनुभएको छ ।

    “अब रामदेव पन्थले उपलब्ध गराएको जग्गामा फोहर बिसर्जन गर्ने तयारी गरेका छौ,” उहाँले भन्नुभयो, “विसं २०८२ सालसम्म उक्त जग्गा फोहर बिसर्जनका लागि नगरपालिकालाई दिन उहाँसँग सहमति भएको छ ।” उक्त ठाउँमा फोहर फाल्नका लागि जग्गा मिलाउने काम शुरु गरिएको र १०÷१५ दिनमा तयार हुने सिग्देलले जानकारी दिनुभयो । “अब कम्तिमा पनि पाँच वर्षका लागि फोहरमैला बिसर्जनका लागि समस्या हुँदैन,” उहाँले भन्नुभयो ।

    नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ । नगरपालिकाले व्यास नगरपालिका–२, ३ र ४ बाट कुहिने र नकुहिने फोहर वर्गीकरण गरी सङ्कलन गर्दै आइरहेको छ ।