‘अब आफै नाम लेख्न सक्छु’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘अब आफै नाम लेख्न सक्छु’

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०७७, आईतवार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आउनुभएकी विमला भट्टराईलाई आफ्नो नाम लेख्न आउँदैनथ्यो । हालसम्म किताब नछुनुभएकी उहाँले नाम लेख्नु त परको कुरा, अक्षर चिन्न पनि मुस्किल थियो । ६५ वर्षीया भट्टराईले सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा जाँदा औठाछाप लगाउनुहुन्थ्यो ।

    तर अब उहाँलाई बैङ्कमा गएर औठाछाप लगाउनुपर्दैन, उहाँले प्रष्टसँग आफ्नो नाम लेख्न सक्ने हुनुभएको छ । “अब त बैङ्कमा जाँदा औठाछाप होइन, आफ्नै नाम लेख्ने हो,” उहाँले भन्नुभयो, “आफ्नो नाम आफैले लेख्न सक्ने हुँदा साह्रै खुशी लागेको छ ।”

    रोट¥याक्ट क्लव अफ वेदव्यास र इनरह्विल क्लव अफ दमौलीले ज्येष्ठ नागरिक आमाहरुलाई लक्षित गरी सञ्चालन गरेको साक्षरता अभियान मार्फत् उहाँले आफैले नाम लेख्न सक्ने हुनुभएको छ । “सिकाईको उमेर हुँदैन” भन्ने नारा सहित क्लवले असोज ६ गतेदेखि आश्रममै साक्षरता अभियान सञ्चालन गरेको थियो । क्लवले सञ्चालन गरेको उक्त अभियानमार्फत् दश जना प्रशिक्षित हुनुभएको छ ।

    रोट¥याक्ट क्लव अफ वेदव्यासकी अध्यक्ष सन्जु घलेले साक्षरता अभियानमा सहभागी कतिपय आमाहरुले नेपालीमा नाम लेख्न पहिल्यै जानेको भएपनि अङ्ग्रेजीमा पनि लेख्न सक्ने हुनुभएको जानकारी दिनुभयो । “अधिकांशले पहिलो पटक आफैले नाम लेख्न सक्ने हुनुभएको छ, केहीले पनि अङ्ग्रेजीमा पनि नाम लेख्न सिक्नुभयो,” घलेले भन्नुभयो ।

    व्यास नगरपालिका–५ कै आमाहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त अभियानमा आश्रमका दुई जना र अन्य आठ जना सहभागी हुनुभयो । स्थानीय मिठु केसी, हरिमाया थापा, मनमाया श्रेष्ठ, नमून थापा लगायतले बुढ्यौली उमेरमा केही दिन भएपनि पढ्न पाउँदा खुशी लागेको बताउनुभयो ।

    क्लवकी अध्यक्ष घलेका अनुसार साक्षरताको अभियानको पहिलो भाग समापन भएको र पुनः यस्तै कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । यस अभियानका क्रममा दैनिक दिउँसो ४ बजेदेखि ५ः३० बजेसम्म कक्षा सञ्चालन गरिएको थियो । क्लवकै सदस्यहरुले आमाहरुलाई अक्षर चिनाउन सहजीकरण गर्नुभएको थियो ।

    वेदव्यास ज्येष्ठ नागरिक आश्रमकी सचिव निर्मला मल्लले बुढ्यौली उमेरमा पहिलो पटक अक्षर चिन्न पाउँदा महिलाहरु खुशी भएको जानकारी दिनुभयो ।