चाडपर्वमा के के छन् प्रहरीलाई चुनाैति ? (भिडियाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चाडपर्वमा के के छन् प्रहरीलाई चुनाैति ? (भिडियाे सहित)

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०७७, सोमबार

    तनहुँ : नजिकिदै गरेको नेपालीहरुको महान् पर्वलाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय तनहुँले सुरक्षा योजना निर्माण गरेको छ । जनतालाई निर्वाध रुपमा चाडपर्व मनाउन सुरक्षित वातावरण सिर्जना गर्ने उद्देश्यले प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना निर्माण गरेको हो ।

    चाडपर्वको समयमा बढी आपराधिक घटना हुन सक्ने मध्यनजर गर्दै सुरक्षा योजना बनाइएको प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिनुभयो । चाडपर्वलाई सुरक्षित र खुशीसाथ मनाउने वातावरण बनाउन प्रहरीले योजना बनाएर अघि बढ्ने पौडेलले जानकारी दिनुभयो । वर्तमान समयमा कोभिड–१९ को जोखिम कायमै रहेकाले यसको नियन्त्रणका लागि पनि प्रहरीले सबै पक्षसँग मिलेर काम गर्ने बताउनुभयो ।

    चाडपर्वका समयमा बढी सवारी साधन सञ्चालन हुने भएकाले यात्रुहरुलाई सुरक्षित रुपमा यात्रा गर्ने व्यवस्था मिलाउन चेकिङ, सचेतना लगायतका कार्यक्रम सञ्चालन गरिने पौडेलले जानकारी दिनुभयो । “बढी भिडभाड हुँदा कोभिडको जोखिम रहने भएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्छौ,” साेमबार आयोजित पत्रकार सम्मेलनमा पौडेलले भन्नुभयो ।

    चाडपर्वका क्रममा हुन सक्ने घटना न्यूनीकरणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिने र राति १० बजेपछि मादक पदार्थ सेवन गरी होहल्ला गर्नेलाई पक्राउ गरिने प्रहरी उपरिक्षक पौडेलले जानकारी दिनुभयो । “होटल तथा रेष्टुरेष्टलाई पनि समय निर्धारण गरेर व्यवस्थित बनाउन पहल गरिनेछ,” पौडेलले भन्नुभयो ।

    प्रहरी उपरिक्षक पौडेलका अनुसार सुरक्षा योजनामा चाडपर्वको समयमा सर्वसाधारणहरु भेला हुन सक्ने सार्वजनिक स्थानको सुरक्षा स्थिति सामान्य बनाउने, अवाञ्छित क्रियाकलाप तथा घटनाहरु न्यूनिकरण गर्ने, रातको समयमा चोरी र होहल्ला बढी हुने हुँदा सो को नियन्त्रण गर्न र रातको समयमा सादा पोशाकमा प्रहरी परिचालन गर्ने, जुवातासलाई नियन्त्रण गर्ने लगायत समेटिएको छ ।

    प्रहरी उपरिक्षक पौडेलले आर्थिक अपराधका घटना हुन सक्ने सम्भावनालाई सुक्ष्म तरिकाले अध्ययन गरी योजना बनाएर प्रहरी परिचालन गरिने जानकारी दिनुभयो । “यसलाई चाडपर्वको क्रममा हुन सक्ने चुनौतिको रुपमा विश्लेषण गरेर यसको नियन्त्रणका लागि प्रहरी लागिपर्नेछ,” उहाँले भन्नुभयो ।

    पाँच ठाउँमा यात्रु सहायता कक्ष

    प्रहरीले चाडपर्व लक्षित गरी पृथ्वीराजमार्गका पाँच ठाउँमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ । मुग्लिङदेखि कोत्रेसम्मका पाँच ठाउँमा स्थापना हुने यात्रु सहायता कक्षले यात्रुहरुका गुनासो समाधान गर्न पहल गर्नेछ । प्रहरी उपरिक्षक पौडेलका आँबुखैरेनीको पुलजीप, बन्दीपुरको डुम्रे, व्यासको दमौली, म्याग्देको थर्पु र शुक्लागण्डकीको कोत्रेमा यात्रु सहायता कक्ष स्थापना हुनेछ ।