खानेपानी आयोजनाको डिपिआर हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खानेपानी आयोजनाको डिपिआर हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०७७, बुधबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–५ चुँदेरमा निर्माण हुने खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बुधबार नगरपालिकालाई हस्तान्तरण गरिएको छ । अमेरिकास्थित रोटरी क्लव अफ होनोलुलु सनसेटको सहयोगमा निर्माण हुन लागेको पंधेरीखोला खानेपानी तथा सरसफाई योजनाको डिपिआर नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

    दमौलीस्थित स्मार्ट सिभिल कन्सल्टेन्सीले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन कन्सल्टेन्सीका इन्जिनियर सुवास गौतमले नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गर्नुभयो ।

    उक्त योजनाको कूल लागत रु एक करोड १६ लाख ४० हजार दुई सय दश रहेको छ । त्यसमध्ये रु ८४ लाख ८१ हजार ६ सय ६७ रोटरी क्लव अफ होनोलुलु सनसेटले सहयोग गर्नेछ भने बाँकी रु ३१ लाख ५८ हजार पाँच सय ४३ नगरपालिकाले लागत बेहोर्नेछ । रोटरी क्लव अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीले केही दिनभित्रै रोटरीले दिने भनेको सहयोग रकम आइपुग्ने र त्यसपछि काम शुरु गरिने जानकारी दिनुभयो ।

    खानेपानी योजनाबाट व्यास नगरपालिका–५ स्थित चुँदेर, रानीटारी र नेपालटारका दुई सय २९ घरका एक हजार एक सय आठ जना लाभान्वित हुनेछन् । कन्सल्टेन्सीका इन्जिनियर गौतमका अनुसार २० घर दलित, एक सय २१ घर जनजाति, तीन घर मुस्लिम र ८५ घर अन्य जातजातिका मानिस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

    ८ सय ४५ मिटरको दूरीमा रहेको मुहानबाट पानी ल्याई ट्याङ्कीमार्फत् घर घरमा पानी वितरण गर्ने गरी डिजाइन गरिएको इन्जिनियर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार एक घण्टामा दश हजार लिटर पानी तानिनेछ । उक्त ठाउँमा दैनिक एक लाख आठ हजार ६ सय २९ लिटर पानी आवश्यक पर्ने अध्ययनबाट देखिएको छ ।

    योजनामा ३० मिटरको ट्रान्समिसन लाइन, ५ सय ८० मिटर वितरण लाइन निर्माण गरिनेछ भने तीन वटा मुहान मर्मत गर्नुपर्ने देखिएको छ । चुँदेरमा २० घनमिटरको ट्याङ्की निर्माण गरेर सोही ट्याङ्कीबाट रानीटारीमा पानी वितरण गर्ने योजना छ ।

    व्यास नगरपालिकाका प्रमुख न्यौपानेले खानेपानी योजना निर्माणका लागि रोटरीको तर्फबाट ठूलो सहयोग प्राप्त भएको र त्यसका लागि नगरपालिकाको तर्फबाट पनि लागत सहभागिता रहने बताउनुभयो ।