तनहुँ : तनहुँ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार बुधबारसम्म जिल्लामा कोरोनाबाट सङ्क्रमण हुनेको सङ्ख्या पाँच सय पाँच पुगेको छ । त्यसमध्ये एक सय १३ महिला र तीन सय ९२ पुरुष छन् ।
सबैभन्दा बढी व्यास नगरपालिकामा एक सय पाँच र सबैभन्दा कम आँबुखैरेनीमा २० कोरोना सङ्क्रमित भएको कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । त्यस्तै भानु नगरपालिकामा ८६, शुक्लागण्डकी नगरपालिकामा ७७, भीमाद नगरपालिकामा २९, म्याग्दे गाउँपालिकामा ३४, घिरिङ गाउँपालिकामा ३५, ऋषिङ गाउँपालिकामा ६३, देवघाट गाउँपालिकामा २३ र बन्दीपुर गाउँपालिकामा ३३ जनालाई सङ्क्रमण भएको छ ।
सङ्क्रमितमध्ये ३ सय ९९ निको भएका छन् भने एक सय सङ्क्रमित सक्रिय रहेका छन् । त्यसमध्ये पाँच जना सङ्क्रमितको काठमाडौ र पोखरामा उपचारका क्रममा मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
कार्यालयका अनुसार भानु नगरपालिकामा ७९ जना निको भएका छन् भने ७ जना सक्रिय सङ्क्रमित छन् । व्यास नगरपालिकामा ६८ जना निको र ३५ जना सक्रिय, शुक्लागण्डकी नगरपालिकामा ४८ जना निको र २९ जना सक्रिय, भीमाद नगरपालिकामा २१ जना निको र ८ जना सक्रिय, म्याग्दे गाउँपालिकामा ३१ जना निको र दुई जना सक्रिय, घिरिङ गाउँपालिकामा ३१ जना निको र चार जना सक्रिय, ऋषिङ गाउँपालिकामा ६१ निको र दुई जना सक्रिय, देवघाट गाउँपालिकामा १६ जना निको र ७ जना सक्रिय, बन्दीपुर गाउँपालिकामा ३० जना निको र तीन जना सक्रिय, आँबुखैरेनी गाउँपालिकामा १४ जना निको र दुई जना सक्रिय सङ्क्रमित छन् ।
जिल्लामा कोरोना निको हुने प्रतिशत ७९.०१ रहेको छ भने मृत्यु प्रतिशत ०.९९ रहेको छ ।