तनहुँ : तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित विद्यालय बन्द गर्न निर्देशन दिएको छ । दिनप्रतिदिन कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि नगरपालिकाले मङ्गलबार प्रेस विज्ञप्ती प्रकाशित गरी कात्तिक १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।
वैकल्पिक माध्यमहरुबाट सञ्चालित विद्यालयहरुमा प्रत्यक्ष कक्षा सञ्चालन भएको अवस्थामा सङ्क्रमणको अवस्था अध्ययन गरी व्यवस्थापन समितिबाट निर्णय लिई विद्यालय बन्द गर्न नगरपालिकाले निर्देशन दिएको छ । यस अगाडी नगरपालिकाले स्वीकृती दिएपछि असोज ११ गतेदेखि विद्यालय सञ्चालनमा आएका थिए ।
बाहिरबाट आउँदा अनिवार्य क्वारेन्टिन
नगरपालिकाले बाहिरबाट आउने नगरवासी दाजुभाईहरुलाई विद्यालयको क्वारेन्टिन हटाइएको हुँदा नगरपालिकाबाट सञ्चालनमा ल्याइएको क्वारेन्टिनमा पिसीआर परीक्षण नेगेटिभ नआउँदासम्म बस्न आग्रह गरेको छ । साथै पिसीआरको सम्पूर्ण खर्च नगरपालिका स्वयंमले व्यहोर्नुपर्ने अवस्था हुँदा लक्षण देखिएमा मात्र परीक्षणका लागि नगरपालिका स्वास्थ्य तथा जनसङ्ख्या शाखामा सम्पर्क गर्न र पिसीआर गरेपछि त्यसको रिपोर्ट नआउँदासम्म बाहिर हिँडडुल नगर्न नगरपालिकाले आग्रह गरेको छ ।
सम्पूर्ण यातायात क्षेत्रका सवारी धनी, चालक र सहयोगीहरुले स्वास्थ्य मापदण्ड पालना गरेर मात्र यात्रुहरुलाई सवार गराउन, ज्येष्ठ नागरिकहरु र दीर्घ रोग लागेका महानुभावहरु अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, सङ्क्रमित भएका व्यक्ति सुरक्षित होम आइसोलेसन नभएमा अस्पतालहरुबाट सञ्चालित आइसोलेसनमा न्यूनतम १४ दिन बस्न, ठूला चाडवाडको अवस्था रहेको हुँदा परम्परागत मानिसहरु भेला भई पूजा, बली, प्रार्थना, भोजभेतर नगर्न पनि नगरपालिकाले आग्रह गरेको छ ।