तनहुँ : समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएपछि एघार दिनदेखि बन्द रहेको तनहुँको भीमाद नगरपालिकाको सेवा बुधबारदेखि सुचारु भएको छ । नगरपालिकामा बुधबार बसेको सर्वपक्षीय बैठकले बन्द रहेका सम्पूर्ण कार्यालय, पेशा व्यवसाय एवं सेवा तथा कार्य सुचारु गर्ने निर्णय गरेको हो ।
कोरोनाको जोखिम बढेको भन्दै नगरपालिकाले असोज १७ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालय, सङ्घसंस्था तथा विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
सर्वपक्षीय बैठकपछि नगरपालिकास्थित बन्द रहेका सम्पूर्ण कार्यालयका सेवा सुचारु भएको प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत थापाका अनुसार सबै व्यवसाय एवं सेवा तथा कार्यहरु जनस्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य पालना गरी खुल्ला गर्ने निर्णय भएको छ ।
अन्यत्रबाट भीमाद नगरपालिकामा भित्रिने मालवाहक सवारी साधन प्रत्येक दिन अपरान्ह ३ बजेपछि मात्र नगरपालिकाभित्र प्रवेश गर्ने र आवश्यक सुरक्षा मापदण्डको अनिवार्य व्यवस्था मिलाई लोड अनलोड गर्नुपर्ने नियम बनाइएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति एवं भारत लगायत अन्य मुलुकबाट भीमाद नगरपालिकामा भित्रिने व्यक्तिहरु अनिवार्य रुपमा होम क्वारेन्टिनमा बसी स्वास्थ्य शाखासँगको समन्वयमा पिसीआर परीक्षण गरी परीक्षणको नतिजा नआएसम्म समुदायमा घुलमिल नहुने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले अनावश्यक भीडभाड हुने किसिमका कुनै पनि गोष्ठि तथा कार्यक्रम नगर्न समेत सबैलाई अनुरोध गरेको छ ।