बन्दीपुरका जनप्रतिनिधि नासोमा बन्दैछ पार्क
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरका जनप्रतिनिधि नासोमा बन्दैछ पार्क

    खबरपुञ्ज संवाददाता

    २९ आश्विन २०७७, शुक्रबार

    तनहुँ : पहाडकी रानी उपमाले सुप्रसिद्ध छ ‘बन्दीपुर’ । गण्डकी प्रदेशमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल हुने एक उत्कृष्ट गन्तव्य बन्दीपुरमा पर्यटक त प्रशस्त आउँछन् नै, आएका पर्यटक सिँधै बन्दीपुर बजार पुगेर घुम्छन् । सोही दिन फर्कन्छन् । पर्यटकलाई अड्याउने प्रशस्त पूर्वाधार नहुदाँ बन्दीपुरमा पर्यटक उतिसारो रोकिदैनन् ।

    पर्यटकको बसाई लम्ब्याएर दुई दिन तीन रातको पु¥याउन बन्दीपुर गाउँपालिकाले २० वर्षे गुरुयोजना बनाएर धमाधम पूर्वाधार थप्दैछ । मुलकमा सङ्घीय शासन व्यवस्था लागु भई स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर ३ वर्षदेखि कार्यकाल सम्हालिरहेका छन् । तोकिएकै समयमै स्थानीय तहको निर्वाचन हुने हो भने अबको २ वर्षपछि अहिलेका जनप्रतिनिधिले विदाई हात हल्लाउनेछन् । तर, आफूहरु विदा भएर गएपनि बन्दीपुरका जनप्रतिनिधिले नासोको रुपमा एउटा पर्यटकीय गन्तव्य ‘जनप्रतिनिधि पार्क’ बनाएर छाड्नेछन् ।

    नयाँ पर्यटकीय गन्तव्य थप गर्ने उद्देश्यले गाउँपालिकाले ‘जनप्रतिनिधि पार्क’ गत वर्षदेखि निर्माण थालेको हो । डुम्रे बजारबाट बन्दीपुरतर्फ उक्लदै गर्दा राईनास डाँडामा सडकको छेउैमा पार्क निर्माणाधीन छ । सार्वजनिक जग्गामा निर्माणाधीन पार्कका लागि गत आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको २० लाख रुपैयाँले भिरालो जग्गामा एक तले भवन ठड्याईएको छ । बजेटको अपुगले भवन निर्माण अधुरै देखिन्छ ।

    चालु आर्थिक वर्षमा भवन निर्माण सकेर पार्क सञ्चालनमा ल्याउन १० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । भवन निर्माण सकिएपछि पहिलो चरणमा यहाँ कफी सप र सार्वजनिक शौचालय सञ्चालनमा आउने उहाँले बताउनुभयो । ‘पार्कलाई बन्दीपुर उक्लने पर्यटकलाई दृश्यावलोकन गर्ने केन्द्र बनाउने योजना छ,’ उहाँले भन्नुभयो ।

    पार्कबाट आँखै अगाडी टलक्क टल्किएका धौलागिरी, माछापुच्छे«, अन्नपूर्ण, लमजुङ, मनास्लु, गणेश र लाङटाङ लगायतका हिमशृङ्खलाको लर्कन देखिन्छ । हरियाली जङ्गलको शिरमा रहेको जनप्रतिनिधि पार्कले पर्यटकको मन जित्नेमा अध्यक्ष थापा ढुक्क देखिनुहुन्छ ।

    पार्कमा अर्को नयाँ गन्तव्य पनि थप्ने गाउँपालिकाको योजना छ । ‘दोस्रो चरणमा जिप फ्लायर सञ्चालन गर्ने योजना छ । तर, जिप फ्लायर सञ्चालनको लगानी ठूलो हुने भएकाले गाउँपालिकाको बजेटले पुग्दैन, यसको जिम्मा निजी क्षेत्रलाई दिनेछौँ,’ उहाँले भन्नुभयो ।

    जनप्रतिनिधि पार्क निर्माणपछि थप पर्यटक बन्दीपुर भित्र्याउन सघाउ पुग्नेमा बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधान विश्वस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘आकर्षक ठाउँमा पार्क बन्दैछ । यहाँबाट देखिने दृश्यले सबैको मन लोभ्याउनेछ ।’ जिप फ्लयार सञ्चालनको योजना बन्दीपुरका लागि विल्कुल नौलो भएकाले आफुहरु सहकार्य गर्न तयार रहेको उहाँले सुनाउनुभयो ।

    बन्दीपुर गाउँपालिकाको लगानीमा पछिल्लो समय नयाँ गन्तव्य ‘मिनी ग्रेटवाल’ र ‘साईकल लेन’ थपिएको छ । ‘शिसाको दृश्यावलोकन बिन्दु’ र ‘कृत्रिम ताल’ निर्माणको प्रकृया अगाडी बढाएको गाउँपालिकाले जनाएको छ ।