स्थानीय जनप्रतिनिधिको दशैं भत्ता कोभिड कोषमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्थानीय जनप्रतिनिधिको दशैं भत्ता कोभिड कोषमा

    खबरपुञ्ज संवाददाता

    ४ कार्तिक २०७७, बुधबार

    तनहुँ : तनहुँ जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख एवं उपप्रमुखले दशैं भत्ता बापतको रकम कोभिड कोषमा जम्मा गरेका छन् । नेपाली काङ्ग्रेसबाट निर्वाचित समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिकाका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षले दशै‌ भत्ता बापतको रकम सम्बन्धित पालिकाको कोभिड कोषमा जम्मा गरेका हुन् ।

    समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र उपप्रमुख पवित्रा पौडेलले दशैं भत्ता बापतको रकम कोभिड कोषमा जम्मा हुने गरी आज व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देललाई हस्तान्तरण गर्नुभयो । समन्वय समिति प्रमुख वाग्लेले रु ३२ हजार र उपप्रमुख पौडेलले रु २८ हजार नगरपालिकाको कोषमा जम्मा गर्नुभएको हो । सोही क्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले रु ३० हजार र उपप्रमुख मिरा जोशीले रु ३० हजार कोभिड कोषमा जम्मा हुने गरी प्रमुख प्रशासकीय अधिकृत सिग्देललाई हस्तान्तरण गर्नुभयो ।

    भानु नगरपालिकाका प्रमुख उदयराज गौली, उपप्रमुख आशा थापा, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, म्याग्दे गाउँपालिकाका अध्यक्ष माया राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, ऋषिङ गाउँपालिकका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनु थापा, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पा श्रेष्ठ र देवघाट गाउँपालिकाका उपाध्यक्ष विमला थापाले पनि दशैं भत्ता बापतको रकम आ–आफ्नो पालिकाको कोभिड कोषमा जम्मा गर्नुभएको छ । नगरपालिकाका प्रमुखले रु ३०, उपप्रमुखले रु ३० साथै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले रु २५÷रु २५ हजार कोभिड कोषमा जम्मा गर्नुभएको हो ।

    व्यास नगरपालिकामा आयोजित कार्यक्रममा समन्वय समितिका प्रमुख वाग्लेले कोभिड सङ्क्रमित बिरामीको उपचारबाट सरकारले हात झिकेकाले सम्बन्धित पालिकालाई सहयोग पुगोस् भनेर आफूहरुले उक्त निर्णय गरेको बताउनुभयो । “कोभिड नियन्त्रण गर्न समर्पित स्थानीय तहका जनप्रतिनिधिलाई लक्षित गर्ने हिसाबले चाडपर्व खर्च बुझेका र जनप्रतिनिधि आफ्नै सुविधामा तल्लिन भएको भन्ने प्रचारप्रति हामी सबैको ध्यानाकर्षण भएको छ,” वाग्लेले भन्नुभयो ।

    व्यास नगरपालिकाका प्रमुख न्यौपानेले स्थानीय तहका जनप्रतिनिधि कोभिड व्यवस्थापनमा क्रियाशील रहेको अवस्थामा स्वतःस्फूर्त रुपमा उक्त निर्णय गरिएको जानकारी दिनुभयो । पिसीआर परीक्षणका लागि स्थानीय तहलाई केही सहयोग होस् भन्ने उद्देश्य सहित दशैं भत्ता बापतको रकम कोषमा जम्मा गरिएको न्यौपानेले बताउनुभयो ।

    तनहुँका सबै पालिकाबाट हालसम्म ७ हजार व्यक्तिको निःशुल्क पिसीआर परीक्षण गरिएको छ । त्यसमध्ये ७ सय तीन जना सङ्क्रमित, ९ जनाको मृत्यु र ४ सय ३६ जना निको भई घर फर्किएका छन् ।