तनहुँ : तनहुँ जलविद्युत आयोजना अन्तर्गत सिनो हाइड्रोले परिचालन गरेका मजदुर पुनः आन्दोलित बनेका छन् । आरडिटी परीक्षण पश्चात् पोजिटिभ देखिएका मजदुरलाई काममा लगाएको भन्दै मजदुरले शुक्रबार दिउँसोदेखि आन्दोलन गरेका हुन् ।
पोजिटिभ आएका मजदुरलाई आइसोलेशनमा नराखी काममा लगाएपछि विरोध गर्दै आफूहरु आन्दोलनमा उत्रनुपरेको मोती श्रेष्ठले जानकारी दिनुभयो । “आरडिटी गर्दा पोजिटिभ देखिएका एक जनालाई काममा लगाइयो, हामीहरुले विरोध गरेपछि मात्रै हिजो दिउँसो उनलाई आइसोलेशनमा राखिएको छ,” श्रेष्ठले भन्नुभयो, “पटक पटक यसरी लापरवाही गर्दा सबै मजदुर जोखिममा परेका छन् ।”
तनहुँ भन्दा बाहिरी जिल्लाबाट मजदुर आउँदा सात दिन क्वारेन्टिनमा राखी पिसीआर परीक्षण पश्चात् काममा लगाउर्ने पूर्व सहमति पनि उल्लङ्घन भएको श्रेष्ठले आरोप लगाउनुभयो । “बाहिरबाट आएको मान्छेलाई क्वारेन्टिनमा राखेर मात्रै काम गराउने पूर्व सहमति भएको थियो, तर हिजो दोलखाबाट आएको मान्छेलाई सिधै काममा लगाइएको छ,” श्रेष्ठले भन्नुभयो, “बारम्बार यस्ता गल्ती दोहो¥याउन नहुने हामीहरुको माग हो ।”
दशैं मान्न घर गएका मजदुर टीकाको भोलिपल्ट काममा फर्किएका थिए । नेपाली मजदुर दशैं बिदामा घर गएका बेला पनि चिनियाँ मजदुरले विद्युतगृह निर्माणको काम सुचारु राखेका थिए ।
असोज अन्तिम साता सबै मजदुरको पिसीआर परीक्षण गरिनुपर्ने माग सहित मजदुरले आन्दोलन गरेका थिए । निर्माण कम्पनीले सबै मजदुरको पिसीआर परीक्षण गरेपछि काम सुचारु भएको थियो ।