


पोखरा, २३ असोज । कास्कीको पोखरामा भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। यसअघि ३ जनाको मृत्यु भएको पुष्टि भएकोमा पछि थप २ जना बालिकाको ज्यान गएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए।
यसअघि गण्डकी प्रदेशका डिआइजी दीपेन्द्र जिसीले २ विद्यार्थी र १ गाडी स्टाफ गरी ३ जनाको मृत्यु भएको पुष्टि गरेका थिए। दुर्घटनामा अन्य घाइतेहरूको उद्धार तथा उपचार जारी रहेको कास्की प्रहरीले जनाएको छ।
हालसम्म मृत्यु भएका कसैको पनि पहिचान खुल्न सकेको छैन। उद्धार कार्य सम्पन्न भएपछि मात्रै मृतकहरूको सनाखततर्फ लाग्ने कास्की प्रहरी प्रमुख कार्कीले बताए।
पोखरा महानगरपालिका वडा नम्बर २८ स्थित माझठानाबाट कालिका बोर्डिङ स्कुलका लागि विद्यार्थी बोकेर आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस ओख्लेमा सडकबाट करिब १ सय ५० देखि २०० मिटर तल भीरमा खसेको थियो।