


तनहुँ ८ मङसिर। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३ गतेको आन्दोलन युवाहरूले सुशासनको माग गर्दै गरेको आन्दोलन भए पनि त्यसमा षड्यन्त्र र घुसपैठ भएको दाबी गरेका छन् । उनले भदौ २४ गतेका घटनालाई नियोजित विध्वंशको संज्ञा दिँदै त्यसबाट संविधान र गणतन्त्र समाप्त पार्ने प्रयास भएको बताए।
मङ्गलबार तनहुँको आँबुखैरेनीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले युवाहरूको सुशासनसम्बन्धी आवाजलाई आधार बनाएर परिस्थितिलाई उत्तेजित बनाउने षड्यन्त्र भएको दाबी गरे । आन्दोलनका मुख्य अभियन्ताहरूले समेत त्यसबेला युवाहरूको वास्तविक माग र घटनाक्रमलाई फरक ढङ्गले बुझ्नुपर्ने धारणा राखेको उनको भनाइ थियो ।
उनले भदौ २४ गते नियोजित रूपमा घटना घटाइएको आरोप लगाउँदै त्यस दिनका गतिविधिलाई कुनै पनि कोणबाट क्रान्ति भन्न नसकिने बताए । सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, निजी निवास तथा राजनीतिक दलका कार्यालयहरू जलाउने तयारीसहितका गतिविधि भएको उल्लेख गर्दै उहाँले त्यस्ता घटना परिवर्तनको आन्दोलन नभई विध्वंश र प्रतिक्रान्ति भएको टिप्पणी गरे ।प्रचण्डले ती घटनामार्फत संविधान समाप्त पार्ने र गणतन्त्र सिध्याउने षड्यन्त्र भएको दाबी गर्दै त्यो प्रयास सफल हुन नसकेको बताए । उनले राजनीतिक दलका नेताहरूलाई अपहरणको शैलीमा नियन्त्रणमा लिने तथा विभिन्न रूपमा कब्जामा राख्ने गतिविधि भएको पनि उल्लेख गरे ।