तनहुँ : तनहुँ जलविद्युत आयोजना अन्तर्गत सिनो हाइड्रोले परिचालन गरेका मजदुरको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । पिसीआर परीक्षण गरिनुपर्ने भन्दै आन्दोलित मजदुरसँग शनिबार उक्त मागमा सहमति भएसँगै आइतबार स्वाब सङ्कलन गरिएको हो ।
जलविद्युत आयोजनाका प्रमुख अच्युत घिमिरेले सिनो हाइड्रोतर्फका ७१ मजदुर र आयोजना तर्फका चार जनाको स्वाब परीक्षणका लागि पठाइएको जानकारी दिनुभयो । “चार जना कोरोना पोजिटिभ भएर १४ दिन आइसोलेशनमा बसेका सहित ७५ जनाको स्वाब परीक्षणका लागि पोखरा पठाएका छौ,” घिमिरेले भन्नुभयो, “मजदुरको रिपोर्ट आएपछि मात्रै अब काममा लगाउँछौ ।” आयोजनाले कोरोना सङ्क्रमितलाई राख्नका लागि क्याम्पभित्रै आइसोलेशन कक्ष बनाएको छ ।
यस अगाडी मजदुर र निर्माण कम्पनीबीच दशैं बिदाबाट फर्किएपछि पिसीआर परीक्षण गर्ने सहमति भएको थियो । घिमिरेका अनुसार दशैं मान्न घर गएका मजदुर टीकाको भोलिपल्ट काममा फर्किएका थिए । नेपाली मजदुर दशैं बिदामा घर गएका बेला पनि चिनियाँ मजदुरले विद्युतगृह निर्माणको काम सुचारु राखेका थिए । असोज अन्तिम साता सबै मजदुरको पिसीआर परीक्षण गरिनुपर्ने माग सहित मजदुरले आन्दोलन गरेका थिए । निर्माण कम्पनीले सबै मजदुरको पिसीआर परीक्षण गरेपछि काम सुचारु भएको थियो ।
आरडिटी परीक्षण पश्चात् पोजिटिभ देखिएका मजदुरलाई काममा लगाएको भन्दै मजदुरले शुक्रबार दिउँसोदेखि आन्दोलन गरेका थिए । मजदुरको माग बमोजिम पिसीआर परीक्षण हुने भएपछि शनिबार आन्दोलन स्थगित भएको थियो ।
सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणको काम पनि अगाडी बढेको छ ।