दमौली अस्पतालमा दन्त सेवाका लागि डिजिटल एक्सरे मेसिन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पतालमा दन्त सेवाका लागि डिजिटल एक्सरे मेसिन

    खबरपुञ्ज संवाददाता

    १७ कार्तिक २०७७, सोमबार

    तनहुँ : तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा दन्त सेवाका लागि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याइएको छ । अस्पतालमा सेवा सुविधा थप गर्ने उद्देश्य बमोजिम दाँतको उपचारका लागि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याएको हो ।

    अस्पतालमा पूर्वाधार थप गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रकम उपलब्ध गराएपछि डिजिटल एक्सरे मेसिन खरिद गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । “अस्पताललाई सुविधासम्पन्न बनाउन पूर्वाधार थप गर्दै लगिएको छ,” अधिकारीले भन्नुभयो, “दाँतको सेवाका लागि सञ्चालनमा ल्याइएको एक्सरे मेसिनले सर्वसाधारणले सहज रुपमा सेवा प्राप्त गर्नेछन् ।”

    उक्त मेसिनलाई करीब रु ५० लाख पर्ने अध्यक्ष अधिकारीले बताउनुभयो । दमौली अस्पतालमा दन्त सेवा नहुँदा सर्वसाधारणले निजी स्वास्थ्य संस्थामा सेवा लिनुपर्ने बाध्यता थियो । “दाँत सम्बन्धी सम्पूर्ण सेवा अस्पतालबाटै प्रवाह भइरहेको छ,” अधिकारीले भन्नुभयो, “अस्पताललाई सुविधासम्पन्न बनाउने प्रयासमा लागेका छौ ।”

    विसं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पताल उपकरण थप्ने प्रयासमा जुटेको छ । सामान्य उपचारका लागि पोखरा, चितवन र काठमाडौ जानुपर्ने अवस्थाको अन्त्य गर्नका लागि अस्पतालमा विभिन्न उपकरण थप गर्दै लगिएको अधिकारीले जानकारी दिनुभयो ।

    गत महिना मात्रै अस्पतालमा एनेस्थेसिया उपकरण जडान गरिएको थियो । बिना अक्सिजन शल्यक्रिया गर्न सकिने रु २० लाख बराबरको उक्त मेसिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको थियो । अस्पतालले निकट भविष्यमै थाइराइडको पनि उपचार शुरु गर्न लागेको छ । त्यसका लागि एक जना प्राविधिक आवश्यक पर्ने भएकाले त्यसका लागि प्रकृया अगाडी बढाइएको छ ।