तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले तिहारको अवसरमा देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको छ । कोभिड–१९ को जोखिम दिनप्रतिदिन बढ्दै गएकाले प्रशासनले देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बिहीबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै नजिकै आइरहेका चाडपर्वमा देउसीभैलो नखेल्न आग्रह गर्नुभयो । साथै हिँडडुल तथा भीडभाड कम गर्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न नगराउन, जुवातास नखेल्न पनि प्रशासन कार्यालयले आग्रह गर्नुभएको छ ।
सूचनाको अवज्ञा गर्ने गराउने व्यक्तिलाई सङ्क्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ । जिल्लाभित्र कुनै प्रकारका मेला तथा बजारमा भीडभाड नगर्न, सामाजिक भौतिक दूरी कायम गर्न, अनिवार्य रुपमा मास्क लगाउने, नियमित रुपमा साबुनपानीले पटक पटक हात धुने वा स्यानीटाइजरको प्रयोग गर्न, प्रयोग गर्न, सवारी साधनमा नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी यात्रु नराख्ने जस्ता न्यूनतम स्वास्थ्य र सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ ।