पहिरोमा पाँच सदस्य गुमाउनेका परिवारलाई आर्थिक सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    पहिरोमा पाँच सदस्य गुमाउनेका परिवारलाई आर्थिक सहयोग

    खबरपुञ्ज संवाददाता

    २० कार्तिक २०७७, शुक्रबार

    तनहुँ : तनहुँको ऋषिङ गाँउपालिका–८ भैसीकिलेमा गत असार २८ गते पहिरोमा परेर निधन भएका पाँच जनाको परिवारलाई तनहुँ समाज हङकङले करिब साढे दुई लाख सहयोग गरेको छ ।

    तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भिमराज गुरुङ र निवर्तमान अध्यक्ष जङ्गबहादुर थापाले पीडित परिवारकै घरमा पुगी रु दुई लाख ४४ हजार एक सय ५० हस्तान्तरण गर्नुभएको हो । घटना लगत्तै समाजले रु २० हजार सहयोग गरेको थियो ।

    उक्त रकम अनबहादुर थापालाई हस्तान्तरण गरिएको छ । पहिराले पुरिएर अनबहादुरका छोरा ३० वर्षीय भेषबहादुर थापा, बुहारी २९ वर्षीया नानुमाया थापा, नातिनी ५ वर्षीया छोरी अमिषा थापा, छोरा २२ वर्षीय महादेव थापा र बुहारी १९ वर्षीया मनिसरा थापाको मृत्यु भएको थियो ।

    ऋषिङ पल्टयाङ स्थायी घर भई हाल हङकङमा बसोबास गर्दै आएका लालबहादुर थापाको संयोजकत्वमा विभिन्न सिलसिलमा हङकङ पुगेका नेपालीहरुबाट सङ्कलित उक्त रकम ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको उपस्थितिमा हस्तान्तरण गरिएको समाजका पूर्व अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

    घटनाका पीडितलाई सहयोग गर्न तनहुँ समाज हङकङमा अनुरोध पत्र प्राप्त भएपछि सहयोग सङ्कलन अभियान सञ्चालन गरी तनहुुँ साथै अन्य जिल्लाका समेत गरी ५६ जना नेपालीहरुको सहयोगबाट सो रकम सङ्कलन भएको रकम सङ्कलन अभियानका संयोजक लालबहादुर थापाले जानकारी दिनुभयो ।

    रकम हस्तान्तरण गर्दै समाजका पूर्व अध्यक्ष गुरुङले प्राकृतिक प्रकोपबाट पीडित परिवारलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । समाजका निवर्तमान अध्यक्ष जङ्गबहादुर थापाले तनहुँमा विगतदेखि नै विभिन्न दुःख, पीडा पर्दा समाजले साथ दिइरहेको बताउनुभयो ।

    गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पहिरो पीडितका लागि पालिकाले जग्गा प्रदान गरी र विभिन्न सङ्घसंस्थाको सहयोगले घर निर्माण गर्न सकिएको जानकारी दिनुभयो ।