मानहुँमा पर्यटक उर्लिएपछि (फोटो फिचर)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मानहुँमा पर्यटक उर्लिएपछि (फोटो फिचर)

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०७७, शनिबार

    तनहुँ : महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टी शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको तस्वीर छ्यापछ्पाप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको ताँती उस्तै ।

    दमौली बजारले कुहिरोको घुम्टो ओढेर सुर्य उदाँउदाको दृश्य हेर्न लालायित आन्तरिक पर्यटक व्यास नगरपालिका–५ को मानहुँकोट डाँडा पुग्छन् । आन्तरिक पर्यटक संख्या दशैँयता ह्वात्तै बढेको छ । दशैँपछि दैनिक हजार बढी पर्यटक दमौलीबाट मानहुँकोट उक्लने गरेकोमा शनिबार (आज) १० हजार बढी पर्यटक पुगेका छन् । मेला महोत्सवमा जस्तै डाँडैभरी पर्यटकको ताँती लाग्यो ।
    यो संख्या अहिलेसम्मकै सर्वाधिक रहेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताउनुभयो ।

    ‘गत वर्ष पर्यटकीय सिजनमा दैनिक २÷३ सयको हाराहारीमा पर्यटक आउथे । यो वर्ष दशैँपछि त्यो संख्या बढेर हजारमा पुग्यो । शनिबार आज १० हजार बढी पर्यटक आएको अनुमान छ,’ उहाँले भन्नुभयो । मानहुँकोट पुग्ने सडकमा सवारी चाप थेगी नसक्नु हुँदा घण्टौँसम्म जाम लागेको थियो । चापाघाटबाट ६ किलोमिटरको यात्रा गरेपछि मानहुँकोट पुगिन्छ ।


    समुदायस्तरमा कोरोनाको संक्रमणको जोखिम बढिरहेको बेला कोरोना भुलेर हजारौँ पर्यटकको भिड लाग्दा जोखिम झनै बढेको छ । सामाजिक सञ्जालमा मानहुँकोट कोरोना फ्रि जोन हो भनेर समेत व्यंग गर्न थालेका छन् । घुम्न आउँदा पर्यटकले कम्तीमा पनि सचेतना अपनाई मास्क तथा सेनिटाईजरको प्रयोग गर्न र सामाजिक दूरी आनिवार्य कायम राख्न वडाध्यक्ष श्रेष्ठको अनुरोध छ । ‘कोरोनाको कारण घरबाट निस्किएर घुम्ने अवस्था छैन । सकभर कमै हिँड्नुस,’ उहाँले भन्नुभयो ।

    तनहुँको विभिन्न स्थानसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, गोरखा र चितवनको लगायतको जिल्लाबाट पर्यटक आएका हुन् । केही शुक्रबारै मानहुँकोट पुगेका थिए । शनिबार बिहान ३ बजेदेखि नै मानहुँकोट जानेको लर्को राजमार्गमै देखिएको थियो । मानहुँकोटबाट सुर्योदय, सर्यास्त, हिमश्रृंखला, दमौली बजार, मादी र सेती नदीको दृश्य आकर्षक देखिन्छ ।