


तनहुँ : तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु भएको छ । मानहुँकोटमा रहेका जग्गालाई व्यवस्थापन गर्दै विकास गर्ने उद्देश्य सहित नगरपालिकाले सोमबारदेखि अध्ययन शुरु गरेको हो ।
मानहुँकोटको गुरुयोजना निर्माण गर्ने तयारीमा रहेको व्यास नगरपालिकाले त्यसैको लागि जग्गाहरुको अध्ययन शुरु गरिएको नगरपालिकाका इन्जिनियर रवीन्द्रलाल मूलले जानकारी दिनुभयो । इन्जिनियर मूलका अनुसार एक हप्ताको अवधिमा अध्ययन सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
“गुरुयोजना निर्माणका लागि यो अध्ययन अति आवश्यक छ, अध्ययन पश्चात् मानहुँकोटको गुरुयोजना निर्माणका लागि सहयोग पुग्छ,” उहाँले भन्नुभयो, “यसबाट मानहुँको वस्तुस्थिति कस्तो छ भन्ने बारेमा छर्लङ्ग हुन्छ ।” मूलका अनुसार यो अध्ययन मानहुँकोटमा सार्वजनिक जग्गा, व्यक्तिको जग्गाको पहिचान हुनुका साथै आगामी दिनमा कहाँ बस्ती निर्माण गर्ने, कहाँ बाटो बनाउने भन्ने विषयमा पनि सहयोगी हुनेछ ।
“मानहुँकोटको टोपोग्राफी कस्तो छ भन्ने अध्ययनले प्रष्ट पार्छ, जग्गा एकीकरणका लागि यसले बाटो निर्माण, बस्तीयोग्य जमिन पहिचान गर्न सहयोग पुग्नेछ,” मूलले भन्नुभयो । नगरपालिकासँग भएको नापीको नक्सालाई पनि आधार मानेर जग्गाहरुको अध्ययन गरिनेछ । नगरपालिकाले मानहुँकोटमा जग्गा एकीकरण गर्ने लक्ष्य राखेको छ ।
अध्ययन सम्पन्न भएपश्चात् गुरुयोजना निर्माण गर्ने समूहसँग बसेर थप छलफल गरिने मूलले जानकारी दिनुभयो । “व्यावसायिक क्षेत्र कता राख्ने, रेष्टुरेण्ट कता बनाउने, निजी आवास कता निर्माण गर्ने, उद्यान कता बनाउने भन्ने विषय अध्ययन पश्चात् योजना बनाउन सहयोग पुग्छ,” उहाँले भन्नुभयो ।
मानहुँको मौलिक चरित्रलाई यथावत राखी आधुनिक ढङ्गबाट विकासको अभियान सञ्चालनका लागि जग्गा विकास कार्यक्रम लागु गर्न लागिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । “मानहुँका मगरहरुले जग्गा छोड्दै जाने र बाहिरबाट आएर जग्गा किने क्रम बढ्दै गइरहेको छ,” नगरप्रमुख न्यौपानेले भन्नुभयो, “त्यसैलाई मध्यनजर गर्दै मानहुँका जग्गाहरुलाई व्यवस्थापन गर्न खोजेका हौ ।”
नगरप्रमुख न्यौपानेका अनुसार मानहुँमा रहेका केही सार्वजनिक जग्गालाई पनि जग्गा विकास कार्यक्रममा समावेश गरेर लगिनेछ । मानहुँमा घर निर्माण गर्दा मौलिक परम्परालाई ख्याल गरिने भन्दै नगरप्रमुख न्यौपानेले घरभित्र सिमेन्टको प्रयोग भएपनि बाहिरबाट हेर्दा मौलिक खालको देखिनुपर्ने भएकोले त्यसतर्फ नगरपालिकाले सोच बनाएको बताउनुभयो ।
मानहुँकोटको गुरुयोजना निर्माणका लागि नगरपालिकाले सोमबारदेखि नै जग्गा किनबेचमा रोक लगाइसकेको छ । धेरै पर्यटकको ध्यान अहिले मानहुँकोटमा केन्द्रित भइरहेकोले मानहुँलाई व्यवस्थित गर्न खोजिएको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पछिल्लो समय मानहुँकोट पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । मानहुँकोटबाट सूर्योदय र कुहिरो हेर्न यतिबेला पर्यटकको अत्याधिक भीड बढेको छ । असोजदेखि फागुनसम्म मानहुँकोटमा यस्तो दृश्य हेर्न सकिन्छ ।
दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।