तनहुँसुरमा घरबास सञ्चालनका लागि कस्सिए स्थानीय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँसुरमा घरबास सञ्चालनका लागि कस्सिए स्थानीय

    खबरपुञ्ज संवाददाता

    ९ मंसिर २०७७, बुधबार

    तनहुँ : तनहुँको ऐतिहासिक स्थल तनहुँसुरमा घरबास सञ्चालनका लागि स्थानीयवासी अग्रसर भएका छन् । व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा घरबास सञ्चालनका लागि स्थानीयवासी अग्रसर भएका हुन् ।

    होमस्टे मार्फत् ग्रामीण पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित तनहुँसुरमा घरबास सञ्चालन गर्न लागिएको तनहुँसुर सामुदायिक घरबास व्यवस्थापन समितिका उपाध्यक्ष बालकृष्ण श्रेष्ठले बताउनुभयो । सेनवंशीले शासन गरेको तनहुँसुर प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै गएको र यसको प्रचारप्रसारमा जुट्दै घरबास सञ्चालन गर्ने योजना सहित अगाडी बढेको श्रेष्ठले बताउनुभयो ।

    उक्त ठाउँमा घरबास सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले अनुदानको व्यवस्था गरेको छ । श्रेष्ठका अनुसार सामुदायिक घरबास व्यवस्थापन समितिमा अहिले आठ घर आबद्ध छन् । विस्तारै अन्य घरहरुलाई पनि समितिमा आबद्ध गरिने श्रेष्ठले जानकारी दिनुभयो । “घरबास सञ्चालनका लागि स्थानीयले घरहरु सुधार गर्न शुरु गरेका छन्,” उहाँले भन्नुभयो, “तनहुँसुर ऐतिहासिक ठाउँ भएपनि स्थानीयवासीले यसको फाइदा लिन सकेका छैनन् ।”

    यहाँका स्थानीयवासी घरबास सञ्चालनका अग्रसर भएपछि व्यास नगरपालिकाले अतिथि सत्कार तथा घरबास व्यवस्थापन तालिम समेत शुरु गरेको छ । मङ्सिर १३ गतेसम्म सञ्चालन हुने तालिममा २५ जनाको सहभागिता छ ।

    व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ग्रामीण पर्यटन प्रबद्र्धनका लागि घरबासको भूमिका महत्वपूर्ण हुने बताउँदै ऐतिहासिक एवं सहिद गाउँ तनहुँसुरको प्रबद्र्धनका लागि नगरपालिका जुटिरहेको बताउनुभयो । “सेन राजाले राज्य सञ्चालन गरेको ठाउँ भएकाले यस ठाउँको प्रचुर सम्भावना छ, त्यसैलाई मध्यनजर गर्दै घरबास सञ्चालनका लागि नगरपालिकाले पनि सहयोग गर्छ,” न्यौपानेले भन्नुभयो ।

    “तनहुँसुरमा सहिदपार्क र तनहुँसुरको प्राचीन सभ्यता हेर्न पर्यटक आउँछन्, यहाँ आउने पर्यटकलाई घरबासले आतिथ्यता प्रदान गर्नुपर्छ,” उहाँले भन्नुभयो, “घरबासमा अर्गानिक खाना र अतिथि सत्कारमा विशेष ध्यान दिर्नुपर्छ ।”

    सम्पदा नेपालका अध्यक्ष एवं पर्यटनविद् हरिसिं गुरुङले घरबास सञ्चालकलाई स्थानीय उत्पादन, खाना तथा पेय पदार्थको व्यवस्थापन, खानाका प्रकार तथा पकाउने विधि, कटिङ, कुकिङको प्रयोगात्मक कक्षा, भान्सा सजावट तथा व्यवस्थापन, खाना सजावट तथा पस्किने तरिका लगायतका विषयमा प्रशिक्षण दिइने जानकारी दिनुभयो ।

    तनहुँसुर पुग्ने खड्गदेवी मोटरमार्गको ६ किमि खण्ड कालोपत्रेको तयारी गरिएको वडाध्यक्ष निरबहादुर खड्काले जानकारी दिनुभयो । सङ्घीय सरकारको रु पाँच करोड र व्यास नगरपालिकाको रु पाँच करोड गरी रु दश करोड लागतमा सडक कालोपत्रेको तयारी भइरहेको छ । वडाध्यक्ष खड्काका अनुसार हाल सडक फराकिलो, नाला निर्माण र ग्याविन जाली भर्ने काम भइरहेको छ । “तनहुँसुर ऐतिहासिक स्थल भएकाले यसको प्रचारप्रसारमा जुटेका छौ,” खड्काले भन्नुभयो ।

    पृथ्वीराजमार्गस्थित घाँसीकुवाबाट १५ किलोमिटरको दूरीमा अवस्थित तनहुँसुरमा सेन वंशीय राजाले राज्य सञ्चालन गर्दाका दरबार, हतियार, भाषण गर्ने गद्दीचौतारो, कालिका मन्दिर, रानीले नुहाउने इनार लगायत अवलोकन गर्न सकिन्छ । तनहुँसुरमा व्यास नगरपालिकाले रु ३५ लाखको लागतमा सहिद पार्क निर्माण गरेको छ ।

    तनहुँसुरबाट हिमश्रृङ्खला, महाभारत पर्वत श्रृङ्खला, कलेस्तीफाट, चुँदीफाट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । केही समय अगाडी पुरातत्व विभागले तनहुँसुर दरबारको उत्खनन् गरेको थियो ।