म्याग्देमा दश शैय्याको अस्पताल शिलान्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देमा दश शैय्याको अस्पताल शिलान्यास

    खबरपुञ्ज संवाददाता

    १४ मंसिर २०७७, सोमबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकामा दश शैय्याको अस्पताल भवन निर्माण शुरु भएको छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्ने सङ्घीय सरकारको लक्ष्य सहित म्याग्दे गाउँपालिका–४ स्थित थर्पुमा अस्पताल भवन निर्माण शुरु भएको हो ।

    निर्माण शुरु भएको अस्पतालको सोमबार म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले शिलान्यास गर्नुभएको छ । सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष रानाले अस्पताल निर्माण सम्पन्न भएसँगै स्थानीयवासीले स्थानीयस्तरबाटै गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताउनुभयो ।

    दश शैय्याको अस्पताल निर्माणका लागि सरकारले रु दश करोड ८३ लाख ३६ हजार बजेट विनियोजन गरेको छ । म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले दुई वर्षभित्र अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आउने जानकारी दिनुभयो । “देशैभर विभिन्न स्थानीय तहमा एकैसाथ अस्पताल निर्माण शुरु भएको छ, यो स्वास्थ्य क्षेत्रमा ठूलो क्रान्ति नै हो,” उहाँले भन्नुभयो ।

    तनहुँमा म्याग्दे, शुक्लागण्डकी, देवघाट, भीमाद, भानु र ऋषिङ गाउँपालिकामा अस्पताल निर्माण हुँदैछ । शुक्लागण्डकीमा १५, ऋषिङमा १०, देवघाटमा १०, म्याग्देमा १०, भानुमा १५ र भीमादमा १५ शैय्याको अस्पताल शिलान्यास हुँदैछ । १५ शैय्याका लागि रु १८ करोड ६ लाख ८२ हजार र १० शैय्याका लागि रु दश करोड ८३ लाख ३६ हजार बजेट छुट्याइएको छ ।

    दश शैय्याको अस्पतालमा दुईजना मेडिकल अधिकृत १७ जना र १५ शैय्याको अस्पतालमा तीन जना मेडिकल अधिकृत २७ स्वास्थ्यकर्मी खटिनेछन् । सबै अस्पतालबाट आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा दिने सरकारको तयारी छ ।