तनहुँ : तनहुँका पाँच स्थानीय तहमा अस्पताल भवन निर्माण शुरु भएको छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्ने उद्देश्य सहित सङ्घीय सरकारले जिल्लाका ६ वटा स्थानीय तहमा अस्पताल निर्माण लागेपनि साेमबार एकैसाथ पाँच स्थानीय तहमा भवन निर्माण शुरु भएको हो ।
जिल्लाको भीमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका र ऋषिङ गाउँपालिकामा एकैसाथ अस्पताल भवन शिलान्यास गरिएको छ । भीमादको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा, शुक्लागण्डकीको राईपुर स्वास्थ्यचौकीमा, म्याग्देको थर्पु स्वास्थ्यचौकीमा, देवघाटको देवघाट स्वास्थ्यचौकीमा र ऋषिङको भिरकोट स्वास्थ्यचौकीमा अस्पताल निर्माण हुनेछ । भानुको पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्रमा भने शिलान्यास कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ ।
भीमाद र शुक्लागण्डकीमा १५÷१५ र म्याग्दे, देवघाट र ऋषिङमा १०÷१० शैय्याको अस्पताल निर्माण हुनेछ । १५ शैय्याको अस्पताल निर्माणका लागि रु १८ करोड ६ लाख ८२ हजार १० शैय्याको अस्पताल निर्माणका लागि रु दश करोड ८३ लाख ३६ हजार बजेट विनियोजन गरिएको छ ।
दश शैय्याको अस्पतालमा दुईजना मेडिकल अधिकृत १७ जना र १५ शैय्याको अस्पतालमा तीन जना मेडिकल अधिकृत २७ स्वास्थ्यकर्मी खटिनेछन् । सबै अस्पतालबाट आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा दिने सरकारको तयारी छ ।
शुक्लागण्डकीमा पूर्वमन्त्रीद्वारा शिलान्यास
शुक्लागण्डकी नगरपालिका–११ राइपुरमा निर्माण शुरु भएको अस्पतालको पूर्वमन्त्री एवं गण्डकी प्रदेश सांसद आशा कोइरालाले शिलान्यास गर्नुभयो । सो अवसरमा पूर्वमन्त्री कोइरालाले देशैभर अस्पताल निर्माण गर्ने सरकारको निर्णय स्वास्थ्य क्षेत्र सुधारतर्फ केन्द्रित रहेको बताउनुभयो ।
भीमादमा सङ्घीय सांसदबाट शिलान्यास
भीमाद नगरपालिका–६ मा निर्माण शुरु भएको अस्पतालको तनहुँ क्षेत्र नं २ का सङ्घीय सांसद केदार सिग्देलले शिलान्यास गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै सांसद सिग्देलले सरकारको यो निर्णय स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति भएको बताउनुभयो । कोही पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहुन् भन्ने उद्देश्य सहित वर्तमान सरकारले स्वास्थ्यमा महत्वपूर्ण कदम चालेको सांसद सिग्देलले बताउनुभयो । भीमाद नगरपालिकका प्रमुख मेखबहादुर थापाले अस्पताल निर्माणसँगै यहाँका वासिन्दालाई स्वास्थ्य सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाका अनुसार १२ रोपनी क्षेत्रफलमा अस्पताल भवन निर्माण हुनेछ ।
देवघाटमा सङ्घीय सांसदबाट शिलान्यास
देवघाट गाउँपालिका–५ मा निर्माण शुरु भएको अस्पतालको तनहुँ क्षेत्र नं १ का सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले शिलान्यास गर्नुभयो । उक्त कार्यक्रममा सांसद श्रेष्ठले वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण कदम चालेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, प्रमुख जिल्ला अधिकारी सागर आचार्य लगायतले समयमै अस्पताल निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
ऋषिङमा गाउँपालिका अध्यक्षबाट शिलान्यास
ऋषिङ गाउँपालिका–४ स्थित भिरकोट स्वास्थ्यचौकीमा निर्माण हुन लागेको अस्पतालको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले शिलान्यास गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलका अनुसार दश रोपनी क्षेत्रफलमा अस्पताल भवन निर्माण गरिनेछ ।
म्याग्देमा गाउँपालिकाका अध्यक्षद्वारा शिलान्यास
म्याग्दे गाउँपालिका–४ स्थित थर्पुमा आज आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले अस्पताल भवनको शिलान्यास गर्नुभयो । सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष रानाले अस्पताल निर्माण सम्पन्न भएसँगै स्थानीयवासीले स्थानीयस्तरबाटै गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताउनुभयो ।
म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले दुई वर्षभित्र अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आउने जानकारी दिनुभयो । “देशैभर विभिन्न स्थानीय तहमा एकैसाथ अस्पताल निर्माण शुरु भएको छ, यो स्वास्थ्य क्षेत्रमा ठूलो क्रान्ति नै हो,” उहाँले भन्नुभयो ।
अस्पताल निर्माण शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । स्थानीय भिमलाल श्रेष्ठले सरकारले राम्रो कामको शुरुवात गरेकाले समयमै अस्पताल भवन निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो ।
भानुमा शिलान्यास स्थगित
भानु नगरपालिकामा भने अस्पताल शिलान्यास कार्यक्रम स्थगित भएको छ । जग्गाको व्यवस्थापन भइसकेपनि अन्तिम समयमा आएर शिलान्यास कार्यक्रम स्थगित भएको नगरपालिकाले जनाएको छ ।
भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले तयारी नपुगेकाले शिलान्यास गर्न नसकिएको जानकारी दिनुभयो । बैठक बसेर छिट्टै अस्पताल शिलान्यास गरिने उहाँले बताउनुभयो ।