शुक्लागण्डकीमा बन्ने अस्पताल वडावासीलाई पनि पायक पर्दैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा बन्ने अस्पताल वडावासीलाई पनि पायक पर्दैन

    खबरपुञ्ज संवाददाता

    १५ मंसिर २०७७, सोमबार

    दुलेगाैडा : सरकारले स्थानीय तहका जनतासमक्ष स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले सोमबार एकैसाथ देशभरका ३ सय ९६ पालिकामा ५ देखि १५ शैय्याको पालिकास्तरीय अस्पताल शिलान्यास गरेको छ । तनहुँमा पनि १० मध्ये ५ स्थानीय तहमा अस्पताल शिलान्यास गरियो ।

    पालिकाका जनताले स्वास्थ्य सेवा लिनलाई सबैलाई पायक पर्ने केन्द्रमा अस्पताल शिलान्यास हुनुपर्ने हो । तर, सरकारले पहुँँच र हचुवाको भरमा स्थान तोकेर पठाउँदा शुक्लागण्डकी नगरपालिमा भने वडावासीलाई समेत पायक नपर्ने स्थानमा अस्पतालको शिलान्यास गरिएको छ ।

    शुक्लागण्डकी नगरपालिका–११ बिसौना राईपुरमा १५ शैय्याको राईपुर प्राथमिक अस्पतालको शिलान्यास गरिएको हो । आइतबार गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले अस्पतालको शिलान्यास गर्नुभयो ।

    गाउँमैे अस्पताल, त्यो पनि १५ शैय्याको शिलान्यास भएपछि स्थानीयमा खुशीको सीमा छैन । अस्पताल बन्ने खुशीयालीमा बाजागाजासहित हर्ष बढ्याई गरियो । गाउँमा अस्पताल बन्यो भने कसैले अकालमा ज्यान गुमाउन नपर्नेमा विश्वस्त रहेको स्थानीय सरस्वती भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अस्पतालको शिलान्यास भएकामा खुशी छौ । यहाँ अस्पताल नहुँदा गर्भवती महिला सुत्केरी हुन स्याङजा बजार पुग्नुपर्ने बाध्यता थियो । दैलोमै अस्पताल बन्न लागेको छ डोकोमा बोकेर अस्पताल पु¥याउनुपर्ने दिनको अन्त्य हुने प्रतिक्षामा छौँ ।’ गरिब दिनदुखीले गाउँमै सर्वसुलभ स्वास्थ्य सेवा पाएर अकालमै ज्यान गुमाउन नपर्नेमा विश्वस्त रहेको उहाँको भनाई छ ।

    राइपुरमा शिलान्यास गरिएको अस्पतालले धेरै क्षेत्रलाई सेवा दिने दाबी राजपुर माविका पूर्व पूर्व प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईको छ । उहाँले भन्नुभयो, ‘ धेरै क्षेत्रलाई समेटेकाले अस्पताल सहजै चल्नेछ । अस्पताल चलाउनलाई नेपाल सरकारले गरेको लगानी खेर जान नदिनलाई राइपुरवासी प्रतिबद्ध छौँ ।’ नगरपालिकाको कुनैपनि स्रोतसाधन परिचालन हुँदैन, तर दरबन्दीको लागि सघाउनुपर्ने उनको भनाई छ ।

    तनहुँ र स्याङजा जिल्लाको सीमाना नजिक शिलान्यास गरिएको अस्पतालले दुई जिल्लावासीलाई सेवा दिनेमा दुईमत त छैन । तर, पूरै शुक्लागण्डकी नगरपालिकाका जनताले त्यो अस्पतालबाट सेवा लिनलाई पायक पर्ने स्थान भने नभएको शुक्लागण्डकीका कर्मचारी र जनप्रतिनिधिको धारणा छ ।

    अस्पताल निमार्णका लागि संघीय सरकारको करिब १८ करोड रुपैयाँ लगानी हुनेछ । यो वर्ष नगरपालिकालाई संघीय सरकारले १ करोड रुपैयाँ बजेट पठाएको जनाईएको छ । बजेट संघीय सरकारले पठाए पनि कार्यन्यनको पाटो स्थानीय सरकारले नै सम्हालनुपर्नेछ । तर, स्थानीयले बाजागाजासहित अस्पताल शिलान्यास गर्दा नगरपालिकाले भने अस्पताल निर्माणको कुनै प्रकृया शुरु नभएको जनाएको छ ।

    गत वर्ष फागुन २२ मा भएको शुक्लागण्डकीको हिँउदे सभा तथा छैठौँ नगरसभाले समेत राईपुर स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्न मन्त्रालयले सूचना प्रकाशित गरेको भन्दै बिरामीको चाप, भौगलिक सुगमता र पूर्वाधारको अवस्थालाई मध्यनजर गर्दै शुक्लागण्डकी–४ दुलेगौँडामा रहेको खैरेनीटार स्वास्थ्य चौकीलाई सूचीकृत गरी संशोधन गर्न स्वास्थ्य मन्त्रालयसमक्ष अनुरोध गर्ने निर्णय गरेको शुक्लागण्डकीकी उपमेयर सविता रसाईलीले जानकारी दिनुभयो ।

    त्यही वडाको केन्द्र साँखेमा नगरपालिकाले दुई वर्षदेखि नगरस्तरीय १५ शैय्याको ढोर फूलबारी शहिद अस्पताल सञ्चालन गरेको छ । तसर्थ पनि एउटै वडामा दुई वटा नगरस्तरीय अस्पताल सञ्चालन गर्न नहुने अधिकांश शुक्लागण्डकीवासीको धारणा छ ।

    राइपुरका जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन पूर्वाधार र सुविधायुक्त स्वास्थ्य संस्था अति आवश्यक भएतापनि त्यहाँ पालिकास्तरीय अस्पताल बनाउन उपयुक्त हुने रसाइलीले बताउनुभयो । उहाँले अस्पताल बनाउन नगरपालिकासँग समन्वय नभएको गुनासो गर्नुभयो ।

    शुक्लागण्डकी नगरपालिकाको केन्द्र दुलेगौँडा बजारदेखि २० किलोमिटर पर रहेको राईपुर बिसौनामा राईपुर स्वास्थ्य चौकी छ । त्यहाँ हेअ सहित ६ जनाको दरबन्दी रहेपनि हाल ४ जना मात्र स्वास्थ्यकर्मी कार्यरत छन् । पूर्वाधार अभावले स्वास्थ्य चौकीले दिनुपर्ने सबैखाले सेवा प्रवाह गर्न सकस छ ।