तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका-११ राइपुरमा आधारभूत अस्पताल शिलान्यास गर्दा नगरपालिकासँग समन्वय नगरिएकामा स्कूल अफ डेमोक्रेसी तनहुँले विरोध जनाएको छ ।
संस्थाका अध्यक्ष डम्बरबहादुर अधिकारीले विज्ञप्तीमार्फत् उक्त कार्यलाई अपरिपक्कताको संज्ञा दिनुभएको छ । नगरपालिकाले सञ्चालन गरेको नगरस्तरीय अस्पतालबाट चार किमि दूरीमा रहेकै ठाउँमा अस्पताल शिलान्यास गर्नु उचित नभएको विज्ञप्तीमा उल्लेख छ ।
यस्तै भानुमा अस्पताल शिलान्यास कार्यक्रम प्रमुख अतिथिको विवादमा स्थगित हुनु दुखद रहेको संस्थाको ठहर छ । विज्ञप्तीमा उल्लेख भए बमोजिम पूर्व निर्धारित कार्यक्रम अनुसार नगरप्रमुख उदयराज गौलीले शिलान्यास गर्ने कार्यक्रम तय भएपनि नेकपा समर्थकले सांसद कृष्णकुमार श्रेष्ठले शिलान्यास गर्नुपर्ने माग राखेपछि शिलान्यास कार्यक्रम नै स्थगित हुनु दुखद भएको जनाइएको छ।