तनहुँ : तनहुँको व्यास नगरपालिका–१३ र ऋषिङ गाउँपालिका–३ जोड्ने सेतीनदीमाथिको पक्की पुलको उद्घाटन कार्यक्रमका लागि नगरपालिकाले निमन्त्रणा ग¥यो । व्यास नगरपालिकाले पुलको शिलान्यास समेत गरेका कारण नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमार्फत् नै पक्की पुलको उद्घाटनको कार्यक्रम तय ग¥यो । सोही बमोजिम नगरपालिकाले सम्पूर्ण तयारी पूरा ग¥यो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गत सडक डिभिजन कार्यालय दमौली मार्फत् बजेट विनियोजन गरी निर्माण सम्पन्न भएको उक्त पुलको हाल मर्मत सम्भार अवधि चलिरहेको एवं उक्त पुल निकट भविष्यमा नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट उद्घाटनको कार्यक्रम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय तनहुँले नगरपालिकालाई मङ्गलबार नै पत्र पठायो । पत्रमा लेखिएको थियो, “हाल उक्त कार्यक्रम स्थगन गरिदिनु ।”
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको हस्ताक्षर रहेको उक्त पत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरी गर्ने गरी हाललाई पुल उद्घाटन कार्यक्रम स्थगित गर्न आग्रह गरिएको थियो । प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले मङ्गलबार नै काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर कार्यक्रम स्थगित गर्न आग्रह समेत गरेको थियो ।
तर व्यास नगरपालिका र ऋषिङ गाउँपालिकाको संयुक्त आयोजनामा उक्त पुलको उदघाटन कार्य सम्पन्न भएको छ । विसं २०७१ असार २९ गते सम्झौता भई निर्माण शुरु भएको उक्त पुलको निर्माण कार्य विसं २०७७ वैशाखमा सकिएको थियो ।