तनहुँ : दुवै मिर्गौला फेल भएपछि डायलासिस गराइरहनुभएका तनहुँको व्यास नगरपालिका–४ का अब्दुल गफ्फार मियाँलाई रु ८ लाख २० हजार पाँच सय सहयोग हस्तान्तरण गरिएको छ । मियाँको उपचारमा सहयोग पु¥याउन गठन गरिएको गफ्फार बचाउ अभियान मार्फत् सङ्कलन भएको उक्त रकम मङ्गलबार हस्तान्तरण गरिएको हो ।
अभियानका संयोजक सुदिप मियाँ, व्यास मुस्लिम सेवा समाजका अध्यक्ष सिद्धिक मियाँ, युवा व्यवसायी सलिम मियाँ र नेपाल मुस्लिम सङ्घका केन्द्रीय सदस्य सर्फ मियाले उक्त रकम मिर्गौला पीडित गफ्फारलाई हस्तान्तरण गर्नुभएको छ ।
देश तथा विदेशमा रहेका विभिन्न व्यक्ति तथा सङ्घ संस्थाबाट उक्त रकम सङ्कलन
गरिएको अभियानका संयोजक सुदिप मियाँले जानकारी दिनुभयो । उपचारका लागि थप रकम आवश्यक परेकाले सहयोग गरिदिन उहाँले आग्रह गर्नुभएको छ ।
दुवै मिर्गौला फेल भएपछि गफ्फारले दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा नियमित रुपमा डायलासिस गराइरहनुभएको छ । मिर्गौला प्रत्यारोपणका लागि मुस्लिम समुदायबाट ठूलो सहयोग भएको भन्दै उहाँले सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभएको छ ।