ऋषिङमा सभाहल निर्माण शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङमा सभाहल निर्माण शुरु

    खबरपुञ्ज संवाददाता

    १८ मंसिर २०७७, बिहीबार

    तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहँुको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माण हुन लागेको सभाहलको बुधबार शिलान्यास गर्नुभएको छ । तनहुँ जलविद्युत आयोजना र ऋषिङ गाउँपालिकाको लगानीमा निर्माण हुन लागेको सभाहलको वरिष्ठ नेता पौडेलले शिलान्यास गर्नुभएको हो ।

    सो अवसरमा बोल्दै वरिष्ठ नेता पौडेलले विकासको काममा काङ्ग्रेस सँधै जनताको साथमा रहेको बताउनुभयो । वरिष्ठ नेता पौडेलले बहुदलका कारण नै विकास निर्माणले गति लिएको भन्दै विकास निर्माणका काममा राजनीतिक विभेद गर्न नहुनेमा जोड दिनुभयो । वरिष्ठ नेता पौडेलले तनहुँ जिल्लामा भएका सबै विकास निर्माण काङ्ग्रेसले गरेको दावी गर्नुभयो । वर्तमान सरकार संविधान विपरित चलेको चर्चा गर्दै पौडेलले संविधानको मर्म अनुसार चल्न सरकारलाई आग्रह गर्नुभयो ।

    पूर्वमन्त्री शिवलाल थापा मगरले विकास निर्माणमा राजनीतिक प्रतिशोध गर्न नहुने बताउँदै समयमै सभाहल निर्माण हुनुपर्नेमा जोड दिनुभयो । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकास निर्माणको कामले गति लिएको बताउनुभयो । काङ्ग्रेस तनहँुका कार्यवाहक सभापति जितप्रकाश आलेले सभाहल निर्माण पश्चात् ऋषिङलाई मात्रै नभई दमौलीलाई पनि फाइदा पुग्ने बताउनुभयो ।

    करिब रु दुई करोड लागत अनुमान गरिएको सभाहल निर्माणका लागि तनहुँ जलविद्युत आयोजनाले रु ६० लाख सहयोग गरेको छ । ऋषिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले आवश्यक रकम गाउँपालिकाबाट विनियोजन हुने जानकारी दिनुभयो । एक हजार पाँच सय क्षमताको सभाहल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।