रिस्तीखोलामा साढे चार करोड लागतमा पुल निर्माण शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रिस्तीखोलामा साढे चार करोड लागतमा पुल निर्माण शुरु

    खबरपुञ्ज संवाददाता

    १८ मंसिर २०७७, शुक्रबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–८ र मध्यनेपाल नगरपालिका–१ जोड्ने रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा रिस्तीखोलामाथि पुल निर्माण शुरु भएको हो ।

    पुल निर्माणका लागि रु चार करोड ४७ लाख २९ हजार पाँच सय ३६ मा सम्झौता भएको पूर्वाधार विकास कार्यालय तनहँुका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो । विसं २०७६ पुस २३ गते सम्झौता भएको पुल विसं २०७८ असारसम्म निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । पुल निर्माणको ठेक्का रोशन कन्स्ट्रक्सन लिमिटेडले पाएको छ । ५२ मिटर लामो पुल निर्माणका लागि सरकारले चालु आर्थिक वर्षमा रु एक करोड २० लाख बजेट विनियोजन गरेको ढुङ्गानाले जानकारी दिनुभयो ।

    उक्त पुलको शुक्रबार गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङले शिलान्यास गर्नुभयो । सो अवसरमा सांसद गुरुङले प्रदेश सरकारले भौतिक पूर्वाधार विकासको कामलाई प्राथमिकता दिएको बताउनुभयो । पुल नभएका खोलामा पुल, खानेपानी नभएका बस्तीमा खानेपानी र बिजुली नभएका गाउँमा बिजुली पु¥याउने गरी सरकारले प्राथमिकतासाथ योजना सञ्चालन गरिरहेको गुरुङले जानकारी दिनुभयो ।

    यस ठाउँमा पुल नहुँदा वर्षायाममा स्थानीयवासीलाई सास्ती हुँदै आएको छ । पुल निर्माण हुने भएपछि यस ठाउँका स्थानीयवासी खुशी भएका छन् ।