तनहुँ : व्यवसायी तथा समाजसेवी रजनजंग शाहीले आफ्नो जन्मोत्सवको अवसरमा आइतबार तनहुँका विभिन्न क्षेत्रमा सहयोग गर्नुभएको छ । व्यास–२ घर भई हाल बेलायतमा बस्दै आउनुभएका शाहीले आफ्नो जन्मदिनको अवसर पारी स्वर्गीय मातापिताको स्मृतिमा व्यास नगरपालिका र बन्दीपुर गाँउपालिकाको एक÷एक विद्यालय, वृद्धाश्रम र भानु नगरपालिका स्थित चेपाङ समुदायलाई सहयोग गर्नुभएको हो ।
पिता चन्द्र बहादुर शाही र माता छविन्द्रकुमारी शाहीको स्मृतिमा रजनले व्यास–११ रामथुम्की स्थित चण्डेश्वरी आधारभूत विद्यालयका २२ जना बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभयो । विद्यालयमा अध्ययनरत सीमान्तकृत, विपन्न चेपाङ समुदायका बालबालिकालाई ट्रयाक सुट र जुत्तामोजा सहयोग गर्नुभएको हो ।
जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नुभन्दा वृद्धवृद्धा तथा बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको शाहीले बताउनुभयो । सामाजिक उत्तरदायित्व बहन गर्दै आफूले परदेशमा कमाएको केही अंश आफ्नो भूमिमा सहयोग गर्न पाउनु गर्वको कुरा भएको बताउनुभयो ।
फजुल खर्च गर्न भन्दा सामाजिक काममा गरिने योगदानले बालबालिकाको शैक्षिक गुणस्तर उकास्न मदत पुग्ने भन्दै शाहीले स्वदेश तथा विदेशमा रहेका साथीभाईरुलाई यसरी नै मदत गर्न आग्रह गर्नुभयो । विद्यालयका प्रधानाध्यापक शंकर रानाभाट र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर परियारले विदेशमा परिश्रम गरी स्वदेशको शैक्षिक विकासमा शाहीले गरेको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।
त्यस्तै शाहीले व्यास–५ पराशर स्थित राष्ट्रिय परोपकार महासंघ नेपाल जिल्ला कार्यसमिति तनहुँद्धारा सञ्चालित जेष्ठ नागरिक चौतारी वृद्धाश्रमलाई खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ । दैनिक उपभोग्य चामल, दाल, तेल, आटा, मसला लगायतका सामग्री शाहीले आश्रमलाई उपलब्ध गराउनुभयो । सहयोग सामग्रीप्रति आभार व्यक्त गर्दैै आश्रमका उपाध्यक्ष सुवेदार बलबहादुर रानाभाटले यस्तै दाताहरुको सहयोगबाट आश्रम चलेको बताउनुभयो ।
शाहीले आइतबार नै भानु नगरपालिका–६ चेपाङबस्तीका ८ घरपरिवारलाई सिरक हस्तान्तरण गर्नुभयो । चण्डेश्वरी आधारभूत विद्यालयका प्रअ शंकर रानाभाट मार्फत सो गाँउमा न्यानो कपडाको अभाव भएको भन्ने जानकारी पाएपछि आफूले सहयोग गरेको शाहीले बताउनुभयो ।
त्यस्तैगरी शाहीले बन्दीपुर–१ भुडाँटार स्थित ज्योति प्राथमिक विद्यालयका ४० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नुभयो । रोट¥याक्ट क्लब अफ वेदव्यासले शाहीसँग समन्वय गरी क्लबको अफरिङ ह्याप्पीनेस–२ प्रोजेक्ट अन्तर्गत बालबालिकालाई शैक्षिक र खेलकुद सामाग्री हस्तान्तरण गरिएको क्लबकी अध्यक्ष सन्जु घलेले जानकारी दिनुभयो ।