काैरा सिक्दै पाथर्दीका युवती
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काैरा सिक्दै पाथर्दीका युवती

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०७७, आईतवार

    तनहुँ : घरबास र सांस्कृतिक कार्यक्रम पर्यायवाची नै हो । घरबासमा पुग्ने पाहुना सांस्कृतिक कार्यक्रममा रमाउन चाहन्छन् । सोही कुरालाई मध्यनजर गर्दै तनहुँको भीमाद नगरपालिका–९ पाथर्दी सामुदायिक घरबास समितिले स्थानीय युवतीलाई कौरा नृत्य प्रशिक्षण प्रदान गरेको छ ।

          गत वर्षदेखि शुरु भएको पाथर्दी सामुदायिक घरबासमा पर्यटकलाई आकर्षित गर्न समितिले पहिलो पटक यहाँका युवतीलाई कौरा नृत्य प्रशिक्षण दिएको हो । मगर समुदायमा निकै प्रचलित रहेको कौराले पर्यटक आकर्षित गर्न सक्ने भएकाले यहाँका युवतीलाई सहभागी गराई कौरा नृत्य प्रशिक्षण गराइएको पाथर्दी सामुदायिक घरबास समितिका अध्यक्ष शिवकुमार आलेले जानकारी दिनुभयो ।

          “घरबासमा आउने पर्यटकलाई स्वागत गर्न र नयाँपन दिन कौरा नृत्य देखाउन युवतीलाई यसबारेमा प्रशिक्षण दिएका छौ,” आलेले भन्नुभयो । सामुदायिक घरबास समितिको सांस्कृतिक विभागले २० जना युवतीलाई सहभागी गराई नृत्य सिकाएको छ । “पर्यटन र कृषिलाई सँगसँगै अगाडी बढाउने उद्देश्यले घरबास सञ्चालन गरेका हौ,” उहाँले भन्नुभयो, “यसमा सांस्कृतिक पाटो पनि जोडिन्छ ।”

          मौलिक कला र संस्कृति जगेर्ना गर्दै थालिएको कौरा नृत्य प्रशिक्षणले पर्यटकलाई आकर्षित गर्नुका साथै संस्कृति संरक्षणमा पनि टेवा पुग्ने सोही वडाका अध्यक्ष इमानबहादुर थापाले बताउनुभयो । नृत्य निर्देशक सर्जन थापा मगरले युवतीलाई कौरा नृत्य प्रशिक्षण दिनुभएको छ ।

          समितिका अध्यक्ष आलेका अनुसार यहाँका दश घरमा घरबास सञ्चालन गरिएको छ । यहाँ आउने पर्यटकलाई अर्गानिक खानेकुरा दिइन्छ । बोयर जातको बोकाको स्रोतकेन्द्रको रुपमा परिचित यस गाउँमा प्रत्येक घरधुरीले व्यावसायिक रुपमा बाख्रापालन समेत गरिरहेका छन् । अध्यक्ष आलेका अनुसार पर्यटकलाई भट्ट, कोदोको रोटी, ढिडो, लोकल कुखुरा, निउरो लगायतका खानेकुरा दिइन्छ ।

          “गत वर्षदेखि घरबास सञ्चालन गरिएको भएपनि केही व्यवस्थापनका काम अझै गर्न बाँकी छ,” आलेले भन्नुभयो, “तयारी हुँदै गर्दा कोरोनाले प्रभावित भयो ।” उहाँका अनुसार अहिले घरबास खुल्ला नगरिएको र केही समयभित्रै सबै व्यवस्थापन सकाएर घरबास शुरुवात गरिनेछ ।

          यहाँ आउने पर्यटकलाई सोही वडामा रहेको सिद्ध गुफा, चुलिडाँडा, इलुङ झरना लगायतको पनि भ्रमण गराइनेछ । पाथर्दी गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषि गाउँ समेत हो ।