दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा गुरुङ समुदायको बाक्लो बस्ती छ । गुरुङ समुदायको इतिहास, धर्म, संस्कृति, संस्कार र सामाजिक परिवेशको प्रतिबिम्ब झल्काउने गरी फिरफिरेको राङलीबोटमा तमु हिल पार्क बनाउने योजना वडा कार्यालयले अगाडी सारेको छ ।
वडाको पार्क बनाउने योजनालाई सार्थक तुल्याउन यहाँका स्थानीयले निशुल्क जग्गा उपलब्ध गराउने भएका छन् । ६ जना स्थानीय मिलेर १० रोपनी ४ आना जग्गादान गर्ने प्रतिबद्धता जनाएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो ।
स्थानीय कौरी गुरुङले १ रोपनी ८ आना , कविराज गुरुङले १५ आना, इन्द्रसुवा गुरुङले १ रोपनी ७ आना, भुपरध्वज गुरुङले ३ रोपनी १ आना, लालु गुरुङले १ रोपनी ११ आना र मनबहादुर गुरुङले १ रोपनी ८ आना दिनुहुने भएको छ । उहॉहरुले आगामी चैतसम्म पार्कको नाममा जग्गा पास गर्नेगरी एक समझदारीपत्रमा हस्ताक्षर गरेको वडाध्यक्ष गुरुङले बताब । ‘स्थानीयले जग्गा दिने भएपछि पार्क निर्माणको काम अगाडी बढाउनलाई बाटो खुलेको छ’, उहॉले भन्नुभयो ।
वडाले तमु हिल पार्क निर्माणका लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त रकमले सडक बनाउने, जग्गा सम्याउने र पार्कको शिलान्यास गर्ने काम हुने उहॉले बताउनुभयो । ‘यो वर्ष काम शुरु भएपछि तीनै तहका सरकारसंग बजेट माग्छौँ’, उहॉले भन्नुभयो, ‘स्थानीयको पनि लागत साझेदारी रहन्छ ।’ पार्कको निर्माण सम्पन्न गर्न झण्डै ५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको वडाध्यक्ष गुरुङले जानकारी गराउनुभयो ।
‘गुरुङ समुदायका युवापुस्ताले इतिहासबारे अध्ययन गर्ने थलो बनाउने योजना छ’, उहॉले भन्नुभयो । पार्कको आर्कषणमा फलिना क्होइबो धि, गुरुङ जातिको पैतृक कार्यसँग जोडिएको क्होईबोमा १२ वटा वर्गचक्रको मुर्तिले घेरिएको हुनेछ । गुरुङ समुदायको परम्परागत घर निर्माण गरी जन्मदेखि मृत्युसम्मका कर्मकाण्ड झल्किने सामग्री प्रर्दशनमा राखिनेछ । यहाँबाट गुरुङ समुदायको बारेमा सोध अध्ययनमा सहयोग पुग्ने जनाईएको छ ।
पार्कभित्र छुट्टै गोरखा राइफल्स र शान्तिपार्कको परिकल्पना गरिएको छ । वालउद्यान, पिकनिक स्पट, भिआइपी सवारी र आपतकालीन उद्धारका लागि हेलिप्याड निर्माण गर्ने डिजाइनमा उल्लेख छ । हिलपार्क निर्माणले मिलेनियम ट्रेकको प्रर्बद्धन र समग्र फिरफिरे क्षेत्रको ग्रामीण पर्यटनको प्रर्बद्धन हुने जनाईएको छ ।