राजसंस्था पाखा लगाइएका कारण देश अभिभावकविहिन भयाे : थापा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राजसंस्था पाखा लगाइएका कारण देश अभिभावकविहिन भयाे : थापा

    खबरपुञ्ज संवाददाता

    २३ पुष २०७७, शुक्रबार

    तनहुँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म संस्कृति कमजोर बनाइएकाले समाजमा अनैतिक कार्यले प्रश्रय पाएको बताउनुभएको छ । राप्रपा तनहुँले शुक्रबार दमौलीमा आयोजना गरेको झण्डोत्तोलन तथा चुनाव चिह्न अनावरण समारोहलाई सम्बोधन गर्दै थापाले धर्म संस्कृतिमाथि आक्रमण बढेकाले नैतिकताको धरातल कमजोर बनेको बताउनुभयो ।

    राष्ट्रिय स्वाधिनता र एकतामा सङ्कटको कालो बादल देखिन थालेको बताउँदै अध्यक्ष थापाले राजसंस्था पाखा लगाउने कामले देश आज अभिभावकविहिन भएको दावी गर्नुभयो । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका थापाले संसद विघटनले संवैधानिक जटिलता सिर्जना भएको र संविधानका निर्माताले नै संविधानको व्यवस्था भत्काउने काम गरेको आरोप लगाउनुभयो ।

    लोकतन्त्रको नाउँमा विगतमा दलहरुले गलत बीउको बीजारोपण गर्ने काम गरेको आरोप लगाउँदै थापाले नेपाली परिवेश सुहाउँदो प्रजातन्त्रको विकास गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । काङ्ग्रेस र कम्युनिष्टको विकल्प राप्रपा भएकाले सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको धरातलमा मात्रै देश विकास सम्भव रहेको थापाले बताउनुभयो । “राप्रपाले सम्बद्र्धनवादको नीति अगाडी सारेको छ, प्राचीन मौलिक परम्परा, संस्कृतिको संरक्षण गर्दै नेपाललाई सवल र समुन्नत बनाउने पार्टीको लक्ष्य हो,” उहाँले भन्नुभयो ।

    कार्यक्रममा राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं पूर्वमन्त्री दुर्गा श्रेष्ठले राप्रपा एकजुट भएकाले कार्यकर्ता पनि एकजुट भएर सङ्गठन निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो । केन्द्रीय कार्यसम्पादन समिति सदस्य हेमजङ गुरुङले सनातन हिन्दु राष्ट्र कायम गराउनका लागि लाग्नुपर्ने बताउनुभयो ।

    सो अवसरमा राप्रपालाई स्थापनाकालदेखि सहयोग पु¥याउने भीमबहादुर बस्नेत, प्रेमबहादुर गुरुङ, देवीप्रसाद पौडेल, घनश्याम अधिकारी, अमृतबहादुर थापा, रामबहादुर शाही लगायतलाई अध्यक्ष थापाले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।