दुलेगाैडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कालिमर्याङमा शनिबारदेखि माघे सङ्क्रान्ति कप भलिबल प्रतियोगिता शुरु भएको छ । होमस्टेको विकास एवं प्रबद्र्धन गर्दै मगरहरुको कला संस्कृति एवं परम्पराको संरक्षण गर्ने उद्देश्य सहित कालिका युनाइटेड युवा क्लवको आयोजनामा भलिबल प्रतियोगिता शुरु भएको हो ।
साविक गाउँ तथा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पहिलो दिन भएका खेलमा बनकेवा युनाइटेड र जनचेतना युवा क्लव विजयी भएको छ । वनकेवा र फिर्दी युनाइटेड युवा क्लवबीच भएको खेलमा वनकेवा २५–१८ र २५–२२ को सेटमा र जनचेतना युवा क्लव र भैरव युवा क्लवबीच भएको खेलमा जनचेतना २५–१६ र २९–२७ सेटमा विजयी भएको छ ।
यसअघि प्रतियोगिताको नेपाल आदिवासी जनजाति महासङ्घ शुक्लागण्डकीका अध्यक्ष विमल जिसी भुजेलले उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः रु ४० हजार, रु २५ हजार, रु १५ हजार र रु पाँच हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मूल आयोजक समितिका संयोजक विष्णु रानाले जानकारी दिनुभयो । माघ ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २० समूहको सहभागिता छ ।