प्रधानमन्त्री कप : पुलिसमाथि बागमतीको सहज जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    प्रधानमन्त्री कप : पुलिसमाथि बागमतीको सहज जित

    खबरपुञ्ज संवाददाता

    ३ माघ २०७७, आईतवार

    काठमाडौ: प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । उसले आइतबारको खेलमा साविक विजेता विभागीय टोली नेपाल पुलिस क्लबमाथि ७ विकेटको सहज जित हात पारेको हो ।

    पुलिसले दिएको ११२ रनको लक्ष्य बागमतीले ३४.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । 

    चौथो विकेटका लागि पृथु बास्कोटा र इशान पाण्डेले अविजित ७९ रनको साझेदारी गरेपछि बागमतीले सहज जित हात पारेको हो । ६६ बलको सामना गरेका बास्कोटाले ५ चौका र ३ छक्काको मदतमा ४८ रनको योगदान दिँदा पाण्डेले ६६ बलमा २ चौकाको मदतमा १७ रन प्रहार गरे । पारस खड्काले १७ रनको योगदान दिए ।

    पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान १–१ विकेट हात पारे । १ विकेट रन आउटको रूपमा प्राप्त भयो ।

    ऐरीले ६ ओभरमा २ मेडनसहित ११ रन खर्चिँदा राजवंशीले ६.४ ओभरमा १ मेडन सहित १९ रन खर्चिए ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले २९.३ ओभरमा सबै विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो । 

    पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २१–२१ रनको योगदान दिँदा सुनिल धमल र कुशल भुर्तेलले समान १७–१७ रनको योगदान दिए । अन्य कुनै पनि ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    पुलिसको पारी ध्वस्त बनाउने क्रममा नन्दन यादव र तिलकराज भण्डारीले समान ४–४ हात पार्दा रामनरेश गिरीले २ विकेट लिए ।

    यादवले ९ ओभरमा १ मेडनसहित ३१, भण्डारीले ७.३ ओभरमा १ मेडनसहित १७ र गिरीले ६ ओभरमा ३० रन खर्चिए ।