पत्रकार महासङ्घ गण्डकीको साधारणसभा फागुन १ गते, रुद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार शर्मालाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पत्रकार महासङ्घ गण्डकीको साधारणसभा फागुन १ गते, रुद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार शर्मालाई

    खबरपुञ्ज संवाददाता

    १३ माघ २०७७, मंगलवार

    तनहुँ : नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको साधारणसभा आगामी फागुन १ गते हुने भएको छ । प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा मङ्गलबार तनहुँको दमौलीमा बसेको बैठकले साधारणसभाको मिति तय गरेको हो ।

    बैठकले साधारणसभा सम्पन्न गर्नका लागि विभिन्न समिति गठन गरेको छ । आर्थिक उपसमितिका संयोजकमा महासचिव गणेश पौडेल, मञ्च तथा अतिथि सत्कार उपसमितिको संयोजकमा सचिव इन्द्रप्रसाद पौडेल र प्रचारप्रसार उपसमितिको संयोजकमा सचिव रुद्रबहादुर श्रीस मगर चयन हुनुभएको छ ।

    बैठकले जिल्ला शाखाहरुबाट सिफारिस भई आएका सदस्यताबारे आवश्यक कारवाहीका लागि अध्यक्ष त्रिभुवन पौडेलको संयोजकत्वमा उपाध्यक्ष नारायणप्रसाद शर्मा र महासचिव गणेश पौडेल रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । साथै जिल्ला शाखाहरुले सिफारिस गरी पठाएको मितिभन्दा अघि प्राप्त भएका सदस्यता सम्बन्धी उजुरी उपर आवश्यक फाइल झिकाई छानबिन गर्ने निर्णय भएको छ ।

    बैठकले प्रदेश समितिको बैठक आयोजना र व्यवस्थापनका लागि नेपाल पत्रकार महासङ्घ तनहुँ शाखालाई धन्यवाद दिने निर्णय गर्नुका साथै लेखा परीक्षणका लागि दर्तावाल लेखा परीक्षक नारायण उपाध्यायलाई नियुक्त गरेको छ ।

    रुद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार शर्मालाई

    बैठकले स्व. रुद्रबहादुर भट्टराई एवं पूर्णकुमारी भट्टराईका परिवारद्वारा स्थापित तथा प्रदेशद्वारा सञ्चालित रुद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार २०७६ कास्कीका वरिष्ठ पत्रकार माधव शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिभा छनौट समिति र त्यसका संयोजक रविन्द्रनाथ बास्तोलाद्वारा बैठकमा सिफारिसबारे जानकारी गराएपश्चात् उक्त सिफारिस बैठकले अनुमोदन गरेको हो ।

    प्रदेश समितिले स्मारिका प्रकाशन गर्न राजेन्द्र न्यौपानेको संयोजकत्वमा स्मारिका प्रकाशन उपसमिति गठन गरेको छ । समितिमा सन्तोष गौतम, अञ्जना तिमिल्सिना, रामजीप्रसाद लम्साल र गोविन्दप्रसाद सुवेदी सदस्य तोकिनुभएको छ ।