पुलिस टाइगर कप भलिबलको फाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पुलिस टाइगर कप भलिबलको फाइनलमा

    खबरपुञ्ज संवाददाता

    २९ माघ २०७७, शुक्रबार

    पोखरा : पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ पुलिस शीर्षस्थानमा उक्लिँदै फाइनल सुनिश्चित गरेको छ । बिहीबार पोखरा रंगशालामा न्यु डायमन्ड एकेडेमीसँग पराजित भए पनि पुलिस ६ अंक जोड्दै लिगको शीर्षस्थान पुगेको हो ।

    न्यु डायमन्डले ३–१ सेटमा जित निकाल्दा खेल रोचक बन्यो । पहिलो सेट डायमन्डले २७–२५ ले आफ्नो पक्षमा ल्यायो । पुलिसले दोस्रो सेटमा संघर्षपूर्ण खेल खेल्दै ३१–२९ ले जितेर खेल बराबरी गर्‍यो । दर्शक साथ पाएको डायमन्डले तेस्रो सेट २७–२५ आफ्नो पक्षमा पार्दै खेलमा अग्रता बनायो । चौथो सेटमा डायमन्डले त्यसलाई कायम गर्दै २५–१६ सहित खेल जित्यो ।

    ललिता नाथको कप्तानीमा कोर्टमा उत्रिएको डायमन्डबाट अरुणा शाही, प्रतिभा माली, अनामिका राई, सलिना श्रेष्ठले गतिलो प्रदर्शन गरे । कोपिला उप्रेतीको कप्तानीमा रहेको पुलिसमा मनीषा चौधरी, उषा भण्डारी, कोपिला राना, कमला पुन, शान्तिकला तामाङलगायतले खेले ।

    न्यु डायमन्ड ५ अंकसहित दोस्रो स्थानमा छ । यद्यपि एक खेल बाँकी नै छ । फाइनल सम्भावना बलियो बनाएको न्यु डायमन्डले शुक्रबार एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । अर्को खेलमा एपीएफले त्रिभुवन आर्मीलाई १८–२५, २७–२५, २५–१७, २५–२०, १५–७ ले हराएको थियो । विनिता बुढाथोकीको कप्तानीमा पहिलो जितसहित एपीएफ २ अंक जोड्न सफल भयो । आर्मीले यसअघि एक खेल जितेर २ अंक जोडेको छ । दुवै टिमको फाइनल पुग्ने सम्भावना भने कमजोर छ ।