तनहुँसुर ‘इको ट्रेक’ को सम्भावता अध्ययन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँसुर ‘इको ट्रेक’ को सम्भावता अध्ययन

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०७७, मंगलवार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–११ मा जैविक विविधता संरक्षणसँगै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित तनहुँसुर इको ट्रेकको सम्भाव्यता अध्ययन गरिएको छ । मूलपानीदेखि तनहुँसुरसम्मको जैविक विविधता संरक्षण, पर्यटन प्रबद्र्धन, वातावरणीय सेवा र ऐतिहासिक धरोहरको संरक्षणका लागि इको ट्रेकको सम्भाव्यता अध्ययन गरिएको हो ।

    वर्तमान समयमा भौतिक विकासबाट पर्यावरणमा प्रतिकूल असर पर्दै गइरहेको अवस्थालाई मध्यनजर गरी पर्यटनविज्ञ सहितको टोलीले सो मार्गको सम्भाव्यता अध्ययन गरेको हो । प्राकृतिक एवं ऐतिहासिक सम्पदा, धार्मिक र सांस्कृतिक धरोहरको संरक्षण गर्न सडक मार्गको विकल्पका रुपमा इको ट्रेक स्थापनाका लागि पहिलो चरणको सर्वे सम्पन्न भएको पर्यटनविज्ञ हरिसिं गुरुङले जानकारी दिनुभयो । मूलपानीदेखि तनहुँसुरसम्म ६.५ किलोमिटरको उक्त टे«क समुन्द्र सतहबाट पाँच सय मिटरको उचाईबाट शुरु हुने र एक हजार दुई सय ५० मिटरको उचाईमा समाप्त हुनेछ ।

    सो क्रममा ट्रेकिङ रुटमा पर्ने समुदायसँग छलफल, पर्यटकीय सम्पदाको पहिचान, नक्साङ्कन, वन्यजन्तु तथा वनस्पतिको वर्तमान वस्तुस्थिति विश्लेषण, पूर्वाधार विकास गर्न पर्ने क्षेत्रहरुको छनोट गरिएको छ । पर्यटकीय गतिविधिहरु बढ्दै जाँदा प्राकृतिक र सांस्कृतिक वातावरण र स्थानीय पहिचान पनि संरक्षण होस् भन्ने हेतुले इको टे«कको अवधारणा अगाडी बढाइएको गुरुङले जानकारी दिनुभयो ।

    ट्रेक स्थापनाका लागि विगत ६ महिनादेखि नै तनहुँसुरवासीलाई वन संरक्षण, वृक्षारोपण, स्थानीय उत्पादनलाई प्राथमिकता दिन, अर्गानिक खाना र सांस्कृतिक पहिचानको संरक्षण र प्रवद्र्धन लगायतका विषयमा प्रशिक्षण दिइँदै आएको छ । स्थानीयमा पर्यावरण सम्बन्धी सचेतना भए मात्र इको पर्यटनका गतिविधि सफलतापूर्वक सञ्चालन हुने भएकाले सचेतना अभिवृद्धिका कार्यक्रमहरुलाई पहिलो चरणमा प्राथमिकता दिएको गुरुङले जानकारी दिनुभयो ।

    तीन तहका सरकार, सङ्घसंस्था र स्थानीयको सहभागितामा आगामी वैशाखसम्म योजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नयाँ वर्ष २०७८ को अवसरमा रुट परिचयात्मक कार्यक्रम समेत राखी सञ्चालनको घोषणा गरिने बताइएको छ ।

    रुट सञ्चालनपूर्व रुटको वरिपरि हरियाली र आकर्षक देखिने खालका वृक्षारोपण गर्ने, केही अप्ठ्यारो ठाउँ मिलाउने, साइन बोर्ड, सूचना पाटी राख्ने लगायतका काम गरिनेछ । उहाँका अनुसार धेरै लामो र उकालो नभई तेर्सो, साधारण उकालो र धेरै घाम र ओसिलो पनि नभएकाले यो रुट अति नै सजिलो भएकाले जोकोहीले ट्रेक गर्न सक्नेछन् । “हरियाली वातावरण, ठाउँठाउँमा पानीको स्रोत, सांस्कृतिक गतिविधि अवलोकन, धार्मिक स्थलहरु, पुरातात्विक सम्पदा पनि समेटिएकाले यो रुट अति नै उत्कृष्ट हुनेछ,” उहाँले भन्नुभयो ।

    उक्त रुटमा पर्ने चमेरो गुफा एवं गुप्तेश्वर महादेव, भगवतीपानी लगायतका धार्मिक सम्पदाहरुलाई प्रकृतिसँग जोड्ने वनस्पति, हावापानी वन्यजन्तु र चराचुरुङ्गी लगायतका विविधतालाई संरक्षण गर्दै स्थानीयको आयआर्जनमा टेवा पु¥याउनु यस इको ट्रेकको प्रमुख उद्देश्य रहेको उहाँले बताउनुभयो ।

    संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले जैविक विविधताको संरक्षण अति महत्वपूर्ण भएकाले विकास गर्दा जैविक विविधतालाई विशेष ध्यान दिन आग्रह गर्नुभयो । ६ महिनादेखि स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाबीच यस क्षेत्रमा इको टे«ेकको विकास सम्बन्धमा अन्तरक्रिया र छलफल भइरहेको वडाध्यक्ष निरबहादुर खड्काले बताउनुभयो ।

    डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले चमेरो प्राकृतिक दृष्टिकोणले अति नै महत्वपूर्ण भएपनि संरक्षणको अभावले लोप हुने खतरामा पुगेको बताउँदै जैविक विविधता संरक्षणको पाटोमा बेलैमा सचेत हुन नसक्ने हो भने धेरै गुणकारी प्रजातिहरु लोप भएर जाने खतरा बढेको बताउनुभयो ।

    स्थानीयहरुलाई व्यावसायिक कृषि, वन र पर्यटन विकाससँग सम्बन्धी क्रियाकलाप सञ्चालनको लागि व्यास नगरपालिका र एसजिपी, जिईएफ लगायतका कार्यक्रम मार्फत् सहयोग भएकोे तनहुँसुर देवस्थल घरबास सञ्चालन समितिकी सदस्य मनिषा रानाले जानकारी दिनुभयो ।

    उक्त सर्वेक्षण टोलीमा संविधानसभा सदस्य पोख्रेल, पर्यटनविज्ञ गुरुङ, डिभिजन वन कार्यालयका प्रमुख, उर्जा तथा वातावरण नेपालका अध्यक्ष कृष्णचन्द्र सुवेदी, व्यास नगरपालिका इन्जिनियर मिलन हड्खले, प्रवेश हड्खले लगायत सञ्चारकर्मीको सहभागिता थियो ।