तनहुँ : तनहुँको घिरिङ गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले घिरिङ गाउँपालिका–३ मानपुरमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरेको हो ।
प्रत्येक स्थानीय तहमा सेवा केन्द्र स्थापना गर्ने लक्ष्य रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका चार स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भइसकेको छ ।
सबै नागरिकलाई स्वस्थ बनाउन गाउँ–गाउँमा यस्ता सेवा केन्द्रहरु स्थापना गरिएको डा. मण्डलले बताउनुभयो । “यस अघि आयुर्वेदका सेवा नपुगेका स्थानमा आरोग्य सेवा केन्द्र स्थापना गरिएको हो,” उहाँले भन्नुभयो, “नागरिकलाई रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो हो ।”
आयुर्वेद चिकित्सा तथा यसको महत्वबारे बुझाउनसमेत केन्द्रको महत्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो । आरोग्य केन्द्रबाट नागरिकलाई निःशुल्करुपमा आधारभूत सेवा प्रदान गरिनेछ । केन्द्रबाट आयुर्वेद सेवा, औषधि वितरण सेवा, ज्येष्ठ नागरिक आरोग्य सेवा, स्तनपायी कार्यक्रम, पूर्वकर्म, पञ्चकर्म, योग, जीवनशैलीलगायत विषयमा निःशुल्क सेवा प्रदान गरिनेछ ।
उक्त केन्द्रको बुधबार उद्घाटन गर्दै तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले सबै नेपालीको पहुँचमा स्वास्थ्य सेवा पु¥याउने सरकारको लक्ष्य रहेको बताउनुभयो । “सोही बमोजिम यो आरोग्य सेवा केन्द्र स्थापना भएको हो । पछिल्लो समय आयुर्वेद सेवाप्रति जनताको विश्वास बढ्दै गएको छ,” सिग्देलले भन्नुभयो, “सबै नागरिकले यसको सेवा उपभोग गर्नुपर्छ ।” सिग्देलले स्वास्थ्यमा सरकारले ठूलो लगानी गरेको बताउँदै नागरिकले पनि सरकारी स्वास्थ्य संस्थाबाट पाउने सेवा लिनुपर्नेमा जोड दिनुभयो ।
घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले घिरिङमा स्थापना भएको केन्द्रबाट नागरिकले सेवा लिनुपर्ने बताउनुभयो ।
आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका अध्यक्ष देवीबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ तनहुँका निवर्तमान अध्यक्ष प्रकाशचन्द्र भट्टराई, आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका वरिष्ठ निरीक्षक बलभद्र वाग्ले लगायतले आयुर्वेद चिकित्साको महत्वबारे प्रकाश पार्नुभएको थियो