घिरिङ अध्यक्ष कपको उपाधि वडा नं १ र २ लाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    घिरिङ अध्यक्ष कपको उपाधि वडा नं १ र २ लाई

    खबरपुञ्ज संवाददाता

    ४ चैत्र २०७७, बुधबार

    तनहुँ : घिरिङ गाउँपालिका युवा खेलकुद विकास समितिको आयोजनामा बुधबार सम्पन्न चौथो घिरिङ अध्यक्ष कपको पुरुषतर्फको उपाधि वडा नं १ र महिलातर्फको उपाधि वडा नं २ ले जितेको छ ।

    बुधबार भएको फाइनल खेलमा पुरुषतर्फ वडा नं २ लाई पराजित गर्दै वडा नं १ ले उपाधि जितेको हो । महिलातर्फ भएको खेलमा वडा नं १ लाई पराजित गर्दै वडा नं २ प्रथम हुन सफल भएको छ । प्रतियोगितामा प्रथम हुने टिमले रु ४० हजार र द्वितीय हुने टिमले रु ३० हजार नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियाेगितामा पुरुषतर्फ पाँच र महिलातर्फ पाँच टिमकाे सहभागिता थियाे ।

    विजयी टिमलाई तनहुँ क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य केदार सिग्देलले पुरस्कार वितरण गर्नुभयाे । साे अवसरमा उहाँले वर्तमान सरकारले विकास निर्माणका कामलाई प्राथमिकता दिएको बताउनुभयाे । सिग्देलले सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्न भौतिक विकाससँगै शिक्षा, स्वास्थ्य, खेलकुद र अन्य विकासको कामलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो ।

    प्रत्येक स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक, सबै घरधुरीमा खानेपानी, विद्युतीकरणको सेवा सरकारको प्राथमिकतामा परेको बताउँदै सिग्देलले गाउँ गाउमा सुविधाजनक अस्पतालको निर्माण शुरु भएको उल्लेख गर्नुभयो ।

    तीनवटै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले जनताको विश्वास जितेर काम गरे अपेक्षा पूरा गर्न सकिने बताउनुभयो । उहाँले जनताको विश्वासलाई घात नगर्ने प्रतिबद्धता जनाउनुभयो ।

    अहिले संविधान सर्वस्वीकार्य भएको उल्लेख गर्दै उहाँले सबै समूह राजनीतिको मुलधारमा आएको बताउनुभयो । अब राजनीतिक क्रान्ति गर्नुनपर्ने बताउँदै सिग्देलले अबको लक्ष्य आर्थिक क्रान्ति भएको बताउनुभयो ।

    घिरिङ गाउँपालिका हुँदै स्याङ्जाको गल्याङदेखि चितवनको गाइघाट जोड्ने सहायक राजमार्ग निर्माण हुन लागेको जानकारी दिँदै उहाँले यसैवर्ष खर्च गर्न ४ करोड र चाडै नै ४० करोड विनियोजन हुने बताउनुभयो ।

    घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले आफू निर्वाचित भएर आउदा गाउँपालिकाभरि १० प्रतिशत घरमा मात्रै विजुली बलेपनि अहिले सबै घरधुरीमा बिजुली पुगेको उल्लेख गर्नुभयो । खानेपानी र सिंचाईमा पनि धेरै प्रगती भएको बताउँदै उहाँले कृष्णमार्गमा शीघ्र कालोपत्रे गर्न निर्माण कम्पनीको ध्यानाकर्षण गराएको बताउनुभयो ।