तनहुँ : झण्डै पाँच किलोमिटर टाढा रहेको विकसित डुम्रे बजारबाट कल्चोकलाई एक्ल्याएको थियो । डुम्रेबाट पाँच तथा पृथ्वीराजमार्गबाट तीन किलोमिटर मात्रै टाढा रहेको यो गाउँमा अहिलेसम्म गाडीको चमकधमक पुगेको छैन ।
सोही गाउँमा छ जलदेवी प्राथमिक विद्यालय । बन्दीपुर गाउँपालिका–५ मा अवस्थित यस विद्यालयमा आथिक स्तर न्यून भएका विद्यार्थी अध्ययन गर्छन् । दलित समुदायमात्र होइन गैरदलित विद्यार्थी पनि न्यून स्तरका छन् ।
विद्यार्थीलाई वर्षभरि पुग्ने कापी, कलम र झोलाको जोहो गर्नै मुस्किल पर्छ । तिनै विद्यार्थीलाई बिहीबार एक सामाजिक संस्थाले शैक्षिक सामग्री वितरण गरेको छ । बन्दीपुर सहयोगी हातहरु नामक संस्थाले विद्यालयमा अध्ययनरत दलित, गरिब, जेहेनदार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
विद्यार्थीलाई झोला, कापी, कलम सामग्री वितरण गरिएको संस्थाकी सचिव मनलता अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बाल शिक्षादेखि कक्षा ५ सम्म अध्ययन गर्ने ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।
शैक्षिक सामग्री पाउँदा विद्यार्थी पनि दङ्ग देखिन्थे । अन्य बालबालिका सरह शिक्षाको पहुँचमा पु¥याउन उनीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष मथुरा पियाले बताउनुभयो । शैक्षिक सामग्रीले विद्यार्थीलाई विद्यालय आउन आकर्षित गर्नुका साथै शैक्षिक गुणस्तरमा वृद्धि हुने उहाँको भनाई छ । काठमाडौमा गएर बसेका बन्दीपुरका बासिन्दाहरु मिलेर उक्त संस्था गठन गरिएको छ । संस्थाका सहसचिव विमल भट्टराईका अनुसार संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ ।