तनहुँ : तनहुँको भानु नगरपालिकाको आयोजनामा शुक्रबार सम्पन्न तेस्रो राष्ट्रपति रनिङशिल्डको उपाधि होमराज लोहनी शारदा शिक्षा सदनले जितेको छ । आठ स्वर्ण पदक जित्दै होरालाले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि जितेको हो ।
प्रतियोगितामा मनोहर मावि ७ स्वर्ण सहित द्वितीय र त्रिभुवन मावि तीन स्वर्ण सहित तृतीय भएको छ । नगरभित्रका २६ वटा विद्यालय सहभागी प्रतियोगितामा २८ वटा खेलमा प्रतिस्पर्धा गराइएको थियो । सहभागी विद्यालय मध्ये १६ वटा विद्यालयहरूले विभिन्न विधामा पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
खेलकुदको माध्यमबाट बालबालिकाहरूको शारीरिक तन्दुरुस्ती तथा मानसिक स्फुर्तिको विकास गरी एक अनुशासित, क्षमतावान र कर्मठ नागरिक तयार गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताका विजयीलाई नगरप्रमुख उदयराज गौलीले पुरस्कार वितरण गर्नुभयो ।
प्रतियोगितामा प्रथम र द्वितीय स्थान प्राप्त गर्ने खेलाडी चैत २७ र २८ गते दमौलीमा हुने जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुनेछन् ।